काठमाडौं । केहि दिन अगाडि चाइनाको सेरेस ग्रुपसँग व्यापारिक सम्झौता गरेको एमएडब्लू वृद्धि मोटोकर्पले पहिलो इलेक्ट्रीक मोडलको रुपमा ईथ्री एसयूभी नेपाल ल्याउने भएको छ । कम्पनी स्रोतका अनुसार सेरेस ईथ्री आगामी अप्रिलमा नेपाल आउन लागेको हो ।
मिडसाइज एसयूभी सेग्मेन्टमा आउने एसयूभीले एमजी जेडएस र बीवाइडी एटो थ्री जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ । खासगरी १०० किलोवाट पीकपावर क्षमताको मोटर रहेको कारण यसले मूल्यमा पनि निकै राम्रो प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ ।
ईथ्री एसयूभीको उच्चगति क्षमता १५५ किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ८.९ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडाउन सकिन्छ । यसको साइज पनि एमजी जेडएसको जस्तै छ । यसको लम्बाई ४३८५ एमएम, चौडाई १८५० एमएम र उचाई १६५० एमएम रहेको छ ।
कम्पनीले यसमा २६५५ एमएमको ह्वीलवेस दिएको छ भने १८ इन्चको ह्वील र १८० एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
यसको इन्टेरियर पनि प्रिमियम रहने छ । ड्यासबोर्डमा १०.२५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, रोटरी गियर सेलेक्टर, इलेक्ट्रोनिक पार्किङ बे्रक, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, हिटेड फ्रन्ट सिट, प्यानारोमिक सनरुफ, हिल असिस्ट, अटो होल्ड तथा ६ वटा एयरब्याग उपलब्ध हुनेछन् ।
यो एसयूभीमा ठूलो साइजको रोवस्ट फ्रन्ट ग्रिल दिइएको छ । यसमा दिएकोे रिभर्सव्याक हेडल्याम्प डिजाइन, स्लिक एलइडी हेडलाइट तथा दुबै साइडमा दिएको फगल्याम्पले एसयूभीलाई आकर्षक देखाएको छ ।
कम्पनीको आधिकारीक वेभसाइडका अनुसार यो एसयूभीमा ५३.६१ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीप्याक रहेको छ । उक्त ब्याट्रीलाई ६.६ किलोवाटको चार्जरले फुल चार्ज गर्न ८ घण्टा लाग्छ । डिसी फास्ट चार्जरले ३० मिनेटमै ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ । एनइडीसीका अनुसार यो एसयूभीले एक पटकको फुल चार्जमा ४०५ किलोमिटर रेन्ज प्रदान गर्छ ।
अमेरिकाको क्यालीफोर्नीया सान्ता कार्लामा हेडक्वाटर रहेको सेरेसको विश्वका धेरै स्थानमा आर एण्ड डी सेन्टरका साथै चाइनामा म्यानुफ्याचरिङ प्लाट रहेको छ । सेरेस समूहले विश्वको ७० भन्दा बढि देशमा गाडी निर्यात गर्दै आएको छ ।


