चल्तीका ब्राण्डले बनाए देशभर ईभी सर्भिस नेटवर्क, ब्राण्ड अनुसारको सूची

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी नेपाल आयात हुने क्रम बढ्दो छ । सवारी आयात हुन थालेसँगै त्यसलाई आवश्यक पूर्वाधारको निर्माणमा पनि आयातकर्ता कम्पनीसँगै अन्य व्यवसायी र सरकार स्वयम् पनि लागि परिरहेको पाइन्छ ।

नेपाली बजारमा हाल दर्जन बढी ब्राण्डले विद्युतीय सवारी बिक्री वितरण गर्दै आएका छन् । वातावरण प्रदुषण नगर्ने, संचालन खर्च कम हुने, मेन्टिनेन्स गर्न धेरै खर्च नआउने लगायत कारणले ईभी निकै रुचाइएको छ ।

गाडीको विक्री बढेसँगै कम्पनीहरुले कस्तो सर्भिस नेटवर्क तयार पारेका छन् भन्ने धेरैलाई चासो हुनु स्वभाविक हो । नेपालमा रहेका ईभी ब्राण्ड र सञ्चालनमा आएका ईभी डेडिकेटेड सर्भिस सेन्टरको बारेमा हामीले जानकारी दिएका छौं ।

टाटा

टाटाका इभी गाडीहरू नेपाली सडकमा अधिकांश भागमा गुड्दै गरेको देखिन्छ। यसलाई सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । टाटाले सवारी आयातसँगै ईभीलाई आवश्यक पूर्वाधार जस्तै चार्जिङ नेटवर्क विस्तार गर्न, सर्भिस सेन्टर निर्माण लगायतमा पनि विशेष गृहकार्य गर्दै आएको जनाएको छ ।

कम्पनीले हालसम्म सातै प्रदेशमा एसी र डिसी गरेर एक सय बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । त्यसैगरी, देशका विभिन्न १५ स्थानमा कम्पनीले आफ्नो सर्भिस सेन्टर मार्फत सेवा दिँदै आएको छ ।

कम्पनीले झापाको धाइजन रोड मेचीदेखि इटहरीको अकम्बा हुँदै भरतपुर-१० चितवन, भैरहवा, बुद्ध चोक-१० पोखरा, दाङको सर्रा, नेपालगञ्जको गनापुर, धनगढीको राजपुर, हेटौँडाको बासामडी, ढल्केबरमा आफ्नो इभी डेडिकेटेड सर्भिस सेन्टर सञ्चालन आएको छ ।

त्यसैगरी, कम्पनीका इभी ग्राहकले उपत्यका भित्र रहेका विभिन्न ४ वटा स्थानमा गएर गाडी सर्भिस गर्न सक्नेछन् । कम्पनीले काठमाडौँको सोल्टिमोड, बालकुमारी, बागडोल र नैकापमा विद्युतीय सवारीका लागि सर्भिसिङ र मेन्टिनेन्स सम्बन्धि सेवा दिँदै आएको छ ।

हुन्डाई

हुन्डाई ब्राण्डको लागि नेपालको आधिकारिक आयातकर्ता लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २०१८ देखि नै ईभी नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले देशभर ११ स्थानमा विद्युतीय सवारीको लागि मात्र प्रयोग हुने डेडिकेटेट सर्भिस सेन्टर सञ्चालनमा रहेको जानकारी दिएको छ ।

कम्पनीले तिनकुनेमा रहेको एलआइ क्विक सर्भिस, एलआइ सर्भिस धापासी, एलआइ अटो कुपन्डोल, न्यू सिभ सर्भिस सिनामंगल, एलआइ सर्भिस भक्तपुरबाट सेवा दिँदै आएको छ ।

त्यसैगरी, भरतपुरमा रहेको पिनाकल ट्रेडिङ कन्सर्न, सिद्धि विनायक सर्भिस सेन्टर बुटवल, अर्किड मोटर कर्प वीरगञ्ज, रोयल अटो विराटनगर, अलायन्स अटो बिर्तामोड र हिम अटो नेपालगञ्जबाट हुन्डाईका इभी ग्राहकले सेवा लिन सक्नेछन् ।

बीवाइडी

बीवाइडीले उत्पादन गरेका विद्युतीय गाडी सन् २०१७ देखि नै नेपालमा विक्री वितरण भइरहेको छ । आधिकारीक विक्रेता साइमेक्स इंक प्रालिले देशभर ८ स्थानमा रहेको आफ्नो सर्भिस सेन्टरबाट सेवा दिँदै आएको छ । कम्पनीले उपत्यका र नजिकका स्थानका लागि काठमाडौंको गौरीघाटमा स्पार्क अटो केयरमार्फत ‘एक्सक्लुसीभ सर्भिस शोलुसन’ संचालनमा ल्याएको छ ।

उपत्यका बाहिर झापाको विर्तामोडदेखि विराटनगर, नारायणघाट, पोखरा, बुटवल, चितवन, धनगढी, दाङ लगायतका स्थानमा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् । उक्त सर्भिस सेन्टरमा सेल्स, सर्भिस र ईभीका लागि अत्यावश्यक रहने स्पेयर पार्ट्स जस्तै ब्रेक प्याड, फिल्टर, वाइपर जस्ता सामान सहजै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले उपत्यकाको हकमा भने ग्राहकले गाडी लिएर सर्भिस सेन्टर आउन नसकेको अवस्थामा ’पिक एण्ड ड्रप सर्भिस’को पनि सुविधा दिँदै आएको छ । कम्पनीले यो सेवा उपत्यका बाहिर पनि विस्तार गर्ने योजना रहेको बताएको छ ।

एमजी

पारामउन्ट मोटर्सले नेपालमा एमजीका ईभी गाडी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले देशभर ८ वटा स्थानमा रहेको आफ्नो सर्भिस सेन्टरबाट ईभीका लागि डेडिकेटेड सर्भिस दिँदै आएको छ । उक्त सर्भिस सेन्टरमा कम्पनीले गाडी सर्भिससँगै ईभीका आवश्यक सामाग्री, स्पेयर पार्टस्, डेन्ट पेन्ट्सको सुविधा समेत उपलब्ध गराउदै आएको छ ।

एमजीका सर्भिस सेन्टर ललितपुरको कुसुन्ती, पोखरा, बुटवल, नारायणघाट, वीरगन्ज, बिर्तामोड, जनकपुर र बिराटनगरमा सञ्चालनमा रहेका छन् ।


Back_to_top