सेरेस-३को मूल्य ५० लाखभन्दा कम, बाहिर आयो दुबै भेरियन्टको मूल्य

काठमाडौं । एमएडब्लू वृद्धिले सेरेस–३ को मूल्य सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो सुरु हुनु तीन दिन अघि मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले दुई भेरियन्टमा सेरेस–३ नेपाल ल्याएको छ । कम्पनीले सेरेसको कम्र्फट भेरियन्टको मूल्य ४७ लाख ९९ हजार र प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो ।

यो मूल्य सिमित समयको लागि मात्रै रहने कम्पनीको भनाइ छ । त्यसपछि यसको मूल्य बढेर कम्फर्ट भेरियन्टको ४९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ५२ लाख ९९हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

सेरेस–३ को नयाँ मूल्यसँगै एमजी जेडएस र बीवाइडी एटो थ्रीको ५० किलोवाट आवरको ब्याट्री भएको एड्भान्स भेरियन्टसँग सिधा प्रतिस्पर्धा हुने देखिएको छ ।

१९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सको कारण यसलाई हल्का अफरोडमा पनि चलाउन सकिने छ । साथै कम्पनीको दावी अनुसार सेरेस–३ विद्युतीय सवारी साधनमा मात्र सिमित नभई लक्जरी, पावरको मिश्रण हो ।

सेरेसले यसमा ९९ किलोवाटको मोटर दिएको छ । साथै, ब्याट्री भने दुबै भेरियन्टमा समान ५२.७ किलोवाट आवर क्षमताको छ । एनइडीसीले ४०५ र नेपालको विभिन्न क्षेत्रमा ३ हजार किलोमिटर परीक्षण गर्दा सिंगल चार्जमा औषत ३५० किलोमिटर रेन्ज पाएको कम्पनी स्रोतको भनाइ छ ।

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्दछ ।

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल–टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

१०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्तालाई आरामदायिक र अन्तरक्र्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ ।


Back_to_top