काठमाडौं । चेक ब्राण्ड स्कोडाले विद्युतीय एसयूभी एलरक सार्वजनिक गरेसँगै यसको मूल्य र रेन्जले युरोपियन बजार तताएको छ । युरोपका उपभोक्तालाई लोभ्याउने मूल्य र रेन्ज एलरकमा दिइएको स्कोडाको दाबी छ ।
एलरक एसयूभीलाई एकपटक फुलचार्ज गरेपछि ५८० किलोमिटर यात्रा गर्न सकिन्छ । साथै, यसको मूल्य ३१ हजार ५०० पाउण्ड हाराहारी रहने बताइएको छ । स्कोडाले ‘टेक डेक फेस’ नाम दिएको नयाँ फ्रन्ट ग्रिलमा उपलब्ध एसयूभी निकै मोर्डन लाग्छ ।

स्प्लीट हेडल्याम्प, भर्टिकल एयरड्याम, २१ इन्चसम्मको ह्वील उपलब्ध एलरकको लम्बाइ ४४८८ एमएम, चौडाइ १८८४ एमएम र उचाइ १६२५ एमएम रहेको छ । यसमा २७६५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
निकै सानदार क्याबिन उपलब्ध एलरकमा चालकको सूचनाको लागि सानो इन्स्ट्रुमेन्ट क्लष्टर, १३ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, हेडअप डिस्प्ले, च्याट जीपीटी इन्ट्रीग्रेसन सहितको लाउरा भ्वाइस एसिस्टेन्स यसमा दिइएको छ ।

‘एमईबी प्लेटफर्म’मा तयार भएको एलरक तीन भेरियन्टमा उपलब्ध हुनेछ । जसमा ५५ देखि ८२ किलोवाट आवर क्षमतासम्मका तीन फरक ब्याट्री अप्सन उपलब्ध हुनेछ ।
मोटर पावर पनि फरक फरक पाउन सकिने एलरकमा १२५ किलोवाटदेखि २१० किलोवाट क्षमतासम्मका मोटर रहने छन् । यसको तीनवटै भेरियन्टले फरक फरक क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । जसमा १४५ देखि १७५ किलोवाटसम्मका चार्जर प्रयोग गर्न सकिन्छ । यसलाई १० देखि ८० प्रतिशत चार्ज गर्न केवल २८ मिनेट लाग्छ ।

