भारतमा कुशकको विक्री अर्को महिनाबाट सुरु, नेपालमा साउनसम्म कुर्नु पर्ने

स्कोडाको मिडसाइज एसयूभी कुशक आगामी जुनबाट भारतमा विक्री सुरु हुने भएको छ । स्काडाले भारतमा उत्पादन गरेको पहिलो एसयूभी कुशक अहिले बजारमा चर्चाको विषय बनेको छ । यसको नेपालमा भने साउन महिनादेखि विक्री सुरु हुने बताइएको छ ।

फक्सवागन ग्रुप अन्तर्गतको स्कोडाका एसयूभीहरु भारत र नेपालमा पनि विक्री वितरण हुँदै आएका छन् । फक्सवागन ग्रुपले भारतमा सन् २०१८ मा घोषणा गरेको प्रोजेक्ट २.० अन्तर्गत उत्पादन भएको पहिलो प्रोडक्ट कुशक हो ।

भारतमा आक्रमक बजार विस्तारको रणनीति निर्माण गरेको फक्सवागन ग्रुपले सन् २०२५ सम्ममा आफ्नो मार्केट सेयर ५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । ग्रुपले आगामी १ वर्ष भित्रमा थप दुईवटा एसयूभी तथा २ वटा सेडान कार लन्च गर्ने समेत घोषणा गरिसकेको छ ।

स्कोडाको यूरोपमा बनेका एसयूभीहरु भारतीय उत्पादन भन्दा निकै महंगो पर्ने भएकोले धेरै ग्राहकहरुको रोजाईमा परेर पनि खरिद गर्ने क्षमता थिएन । तर, कुशकको आगमनपछि भने यो सेग्मेन्टमा स्कोडाले राम्रो प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । कुशकले बजारमा चर्चित हुन्डाई क्रेटा, कियाको सेल्टोस, निसानको किक्स तथा रेनोको डस्टरसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

कुशकमा ठूलो साइजको १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ, जसमा एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सिस्टम रहेको छ । यसको क्याविनमा एम्बीयन्ट लाइट तथा सनरुफको प्रयोग गरिएको छ । यो एसयूभीको अगाडिका सिटहरु भेन्टीलेटेड रहेका छन् । यसमा ६ वटा स्पीकर रहेको छ । साथै वायरलेस चार्जिङ सिस्टमले यसलाई थप ट्रेन्डी बनाएको छ । साथै यसमा टु स्पोक स्टेरिङ ह्वील दिएको छ जसले ड्राइभिङमा स्पोर्टी फिल गराउनेछ ।

यसको अगाडि दुई भागमा छुट्टीएको हेडलाइट दिएको छ । हेडलाइटले ग्रिललाई अझ चौडा देखाउन मद्दत गरेको छ । यसको बोनट पनि आकर्षक देखिएको छ । कोडियाक बाट प्रेरित गरेको देखिन्छ । कुशक एक्टीभ, एम्बीयन्ट र स्टाइल गरि तीन भेरियन्टमा बजारमा आउने अनुमान गरिएको छ ।

कुशक एसयूभीमा १.० लिटरको तीन सिलिण्डर टर्बो टिएसआई इन्जिन तथा १.५ लिटरको चार सिलिण्डर टिएसआई इन्जिन अप्सनमा उपलब्ध हुनेछ । १.० लिटर इन्जिनसँग फक्वागनको पोलोमा जस्तै ६ स्पीडको म्यानुयल तथा अटोमेटिक ट्रान्समिसन हुनेछ भने १.५ लिटर इन्जिनमा ७ स्पीडको डिएसजी अटोमेटिक तथा ६ स्पीडको म्यानुयल गियरबक्स रहने छ । सुरक्षाका लागि यस एसयूभीमा ६ वटासम्म एयरव्याग, अगाडि तथा पछाडि पार्किङ सेन्सर, हिल होल्ड कन्ट्रोल, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, आइएसओ फिक्स चाइल्ड सिट आदि रहेका छन् ।

स्कोडाले आफ्नो पहिलो भारतीय उत्पादन मिडसाइज एसयूभीको नाम समेत संस्कृत भाषाबाट जुराएको छ । संस्कृत भाषामा कुशकको अर्थ राजा वा शासक भन्ने हो । के कुशकले आफ्नो सेग्मेन्टमा साच्ची नै शासन गर्ने छ त ? कुराको उत्तर पाउन भने केही समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top