काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ आउन केबल २० दिन मात्रै बाँकी छ । नयाँ वर्ष लागेसँगै गाडी आयातकर्ताहरुले साना र कम मूल्यका गाडी ल्याउलान् वा नल्याउलान् भन्ने चासो धेरैमा रहेको पाइन्छ ।
भारतबाट आयात हुने गाडी निर्मातासँग विद्युतीय मोडल नै कम छ । चीनबाट आयात हुने राम्रा र प्रिमियम कम्पनीहरुले पनि साना र कम मूल्यका ईभी बनाउन खासै चासो देखाएका छैनन् । त्यसैले नेपालमा उपलब्ध ब्राण्डहरुले साना विद्युतीय कार मोडलहरु धेरै ल्याउने सम्भावना न्यून छ ।

बीवाइडीसँग सिगल ह्याचव्याक छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले कुनै पनि समय सिगललाई नेपाल ल्याउन सक्ने देखिन्छ । उसले डेमो भेहिकल मगाइसकेको कारण सन् २०२५ मा सिगल बजारमा आउने पक्का जस्तै छ ।
लीप मोटरको टी-०३ मोडल नेपाल आउने अर्को कम मूल्यको कार हुनसक्छ । साँग्रिला मोटर्सले अहिले ल्याएर परीक्षण गरिरहेको टी-०३ मोडल ह्याचव्याक सेग्मेन्टमा उपलब्ध मोडल हो । सन् २०२५ को कुनै पनि समय टी-०३ को बिक्री सुरु हुनेछ ।

अर्को बजेट कार एमजीले विन्डसर ल्याउन सक्ने देखिन्छ । भारतमा उत्पादन भएको एमजी विन्डसर त्यहाँको स्थानिय बजारमा हाइ डिमाण्डमा चलिरहेको मोडल हो । त्यसैले ड्याक्कै कुन मितिमा विन्डसर नेपालमा दिन्छ भन्ने एकिन भन्न सकिने अवस्था छैन । तर, सन् २०२५ को पहिलो क्वाटरमै विन्डसर नेपाल आउन सक्नेछ ।

सानो कारको रुपमा हुन्डाई इन्स्टर पनि नेपाल आउन सक्ने मोडल हो । सानो साइजको एसयूभी भएपनि मूल्यका हिसावले कम्प्याक्ट एसयूभी सरहको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री भएको कारण नेपालमा पनि महंगो पर्न सक्ने देखिन्छ ।

यसका अलावा अहिले नेपालमा कार बिक्री गर्दै आएका कुनै पनि ब्राण्डले आकर्षक ह्याचव्याक बनाएका छैनन् । त्यसैले ४० लाख रुपैयाँ भित्रै मूल्य कायम भएर आउने गाडीको संख्या निकै कम देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा मिनी ईभी उत्पादन र बिक्री गर्ने कम्पनीहरुको ब्यापार राम्रो भइरहेपनि नेपालमा मिनी ईभीको ब्यापार अत्यन्त न्यून छ । त्यसैले यस्ता कार ल्याउन कम्पनीहरुले प्राथमिकता नै सेट गरेका छैनन् ।

