काठमाडौं । बजारको हटकेक सेग्मेन्ट भनेकै सब फोर मिटर भएको छ । विशेषगरी फोर्ड इकोस्पोर्टबाट सुरू भएको सब फोर मिटरको यात्रा अहिले निकै सफल भएको छ ।
बजारमा साना एसयूभी किन्नेको पहिलो प्राथमिकता ग्राउन्ड क्लियरेन्स, दोस्रो बनोट, तेस्रो इन्जिन र पावर, चौथो फिचर, पाँचौं मूल्य र माइलेज पर्ने गरेको छ । साथै नेपालमा प्रोडक्टसँगै त्यसलाई उत्पादन गर्ने ब्राण्डको विषयले पनि निकै महत्व राख्छ ।
त्यसको पछिल्लो उदाहरण निसान म्याग्नाइटलाई लिन सकिन्छ । निसान म्याग्नाइट मूल्य सस्तोसँगै निसान ब्राण्ड नेममा आएको कारण निकै ठूलो सफलता पाउन सफल भएको हो ।
सब फोर मिटर सेग्मेन्टमा अहिले फोर्ड इकोस्पोर्ट छैन । फोर्डले भारतमा रहेको प्लान्ट बन्द गरेसँगै इकोस्पोर्टको उत्पादन रोकियो र आयात पनि बन्द भयो । जसले यो सेग्मेन्टको बाटो देखायो अब उसैको उपस्थिति रहने छैन ।
त्यसपछि मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, किया सोनेट, निसान म्याग्नाइट र रेनो काइगर बजारमा आए । यी सबै मोडलले राम्रै संख्यामा ग्राहक पाइरहेका छन् ।
बजारमा उपलब्ध यी साना एसयूभीमा ९९९ सीसीदेखि १५०० सीसीभन्दा कम क्षमताका इन्जिन पाउन सकिन्छ । इन्जिन कै आधारमा यी कारहरूको पावर र माइलेज पनि फरक फरक पाउन सकिन्छ ।

सेग्मेन्टकै सर्वाधिक सफल मोडल मारुती सुजुकी ब्रेजा हो । ब्रेजामा १४६२ सीसी क्षमताको फोर सिलिण्डर पेट्रोल इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले १०२ ब्रेकहर्स पावर र १३७ एनएम टर्क उत्सर्जन गर्छ । सिजी मोटोकर्पले विक्री गर्दै आएको ब्रेजाको माइलेज १९.८९ किलोमिटर प्रतिलिटर रहेको एआरएआइले प्रमाणित गरेको छ ।
कोरियन ब्राण्ड हुन्डाईको भेन्यू र किया सोनेट एउटै सेग्मेन्टका प्रतिस्पर्धी मोडल हुन् । हुन्डाईले भेन्यूको केही दिनअघि भारतमा फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ ।

नेपालमा सानो तथा छरितो एसयूभी चाहने धेरै ग्राहकहरूको रोजाइमा परेको भेन्यूमा ११९७ सीसीको चार सिलिण्डर पेट्रोल इन्जिन, ९९९ सीसीको टर्बो इन्जिन र १.५ लिटर क्षमताको डिजेल इन्जिन पाउन सकिन्छ । कियाले सोनेट पनि यिनै तीन इन्जिनमा उपलब्ध गराएको छ ।
यी दुवै गाडीमा प्रयोग भएको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले ८२ हर्सपावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । एआरएआइका अनुसार भेन्यू र सोनेटले प्रतिलिटर १७.५ किलोमिटरसम्म माइलेज दिन्छ ।
टाटाको गेमचेन्जर एसयूभी नेक्सन टर्बो इन्जिन भएको गाडी हो । टाटाले नेक्सनलाई पेट्रोल, डिजेल र इलेक्ट्रीक भर्सनमा बजारमा उतारेको छ । हामीले यहाँ पेट्रोल भेरियन्टको मात्रै चर्चा गरेका छौं । नेक्सनमा ११९९ सीसीको ३ सिलिण्डर पेट्रोल इन्जिन दिएको छ ।

टर्बो इन्जिन भएको कारण यसको पावर ११८ ब्रेकहर्स पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । एआरएआइले यसको प्रतिलिटर माइलेज १७.५७ किलोमिटरसम्म रहने प्रमाणित गरेको छ ।
जापानी ब्राण्ड निसानले भारतमा बनाएको म्याग्नाइट साना साइजको एसयूभीहरू मध्ये लम्बाइमा समान रहेता पनि ओभरअल बनावटमै सानो रहेको छ । निसानले यो एसयूभीमा ९९९ सीसीको टर्बो र नेचुरल्ली एस्पिरेटेड दुवै इन्जिन उपलब्ध गराएको छ ।

तीन सिलिण्डरको पेट्रोल टर्बो इन्जिन रहेको म्याग्नाइटले ९९ ब्रेक हर्सपावर र १६० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार यो कारले एक लिटर पेट्रोल खर्च गरेर २० किलोमिटरसम्म माइलेज प्रदान गर्छ । अर्को फ्रेन्च ब्राण्ड रेनोले पनि निसानसँगै इन्जिन सेयर गर्ने भएकोले रेनो काइगरमा दिएको इन्जिनले पनि समान पावर र माइलेज दिन्छ ।
महिन्द्राले पनि आफ्नो सानो एसयूभीमा १.२ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिएको छ । यसमा रहेको इन्जिनले अधिकतम १०९ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्छ । यसले प्रतिलिटर १७ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ ।


