नेपालमा पाइने चल्तीका ७ इलेक्ट्रीक मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक मोटरसाइकल किन्न चाहने ग्राहकका लागि छनोट सुविधा बढ्दै गएको छ । विभिन्न ब्राण्डले मोटरसाइकल ल्याउन थालेसँगै ग्राहकलाई छनोट गर्न सहज बन्दै गएको हो ।

अहिले नेपालमा दुई दर्जनभन्दा धेरै इलेक्ट्रीक ब्राण्डले मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएका छन् । यद्यपि अहिले पनि स्कुटरको तुलनामा मोटरसाइकलको संख्या न्यून रहेको छ ।

केही दिन अघिमात्र प्योर इभीले नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक गरेको छ भने यसअघि कोमाकी, सुपर शोको, यात्रीले जस्ता ब्राण्डले इलेक्ट्रीक मोटरसाइकल विक्री गर्दै आएका थिए ।

इलेक्ट्रीक मोटरसाइकलमा पनि कम्युटर, स्पोर्टस्, क्रुजर तथा डबल स्पोर्टस् डिजाइनका मोटरसाइकल विक्री भइरहेका छन् । प्योर इभीले कम्युटर मोटरसाइकल ल्याएको छ भने सुपर शोकोले स्पोर्टस् डिजाइनमा मोटरसाइकल उपलब्ध गराएको छ । त्यस्तै, कोमाकीले क्रुजर र यात्रीले डबल स्पोर्टस् मोडल विक्री गर्दै आएका छन् ।

सुपर शोको

सुपर शोकोले ४ मोडलको मोटरसाइकल विक्री गर्दै आएको छ । हाल बुकिङ लिइरहेको यो मोटरसाइकल अर्को हप्ताबाट विक्री सुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले टीएस स्ट्रिट हन्टर र टीसी वान्डरर गरी दुई नयाँ मोडल विक्री सुरु गर्न लागेको हो । त्यस्तै कम्पनीले यसअघि विक्री गर्दै आएको टीसी र टीसी म्याक्स समेत आगामी हप्तादेखि पुनः विक्री सुरु गर्नेछ ।

टीएस स्ट्रिट हन्टर र टीसी वान्डररमा ३ हजार ५ सय वाटको मोटर प्रयोग गरिएको छ । यसले १८० एनएम पिक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टा छ ।

यी दुबै मोटरसाइकलमा ६० भोल्ट ३२ एम्पियरको ड्युअल ब्याट्री प्रयोग गरिएको छ र यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिन्छ ।
सुपर सोको टीएस स्ट्रिट हन्टरको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० र सुपर सोको टीसी वान्डररको मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

सुपर शोको टीसी म्याक्समा ५ किलोवाटको मोटर प्रयोग गरिएको छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा छ । यसलाई एक पटक फुलचार्ज गर्न ८ देखि ९ घन्टा समय लाग्छ भने, एक पटकको फुलचार्जमा ११० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

त्यस्तै टीसी मोडलमा ३ किलोवाट क्षताको मोटर रहेको छ । यसको टस स्पीड ८५ किलोमिटर प्रतिघन्टा छ । त्यस्तै यो मोटरसाइकललाई रहेको ६० भोल्ट ३२ एम्पीयरको ब्याट्री लाई साढे ३ घण्टामा फुल चार्ज गर्न सकिन्छ । यो मोटरसाइकलमा डबल ब्याट्री अप्सनमा आउँछ । यसले ८० देखि १६० किलोमिटरसम्म रेन्ज दिन्छ ।

कोमाकी रेन्जर

कोमाकी रेन्जर क्रुजर डिजाइनमा बनेको मोटरसाइकल हो । यसमा ४ किलोवाटको मोटर र ८० एम्पिएरको कन्ट्रोलर राखिएको छ । यसमा ७२ भोल्ट ५० एम्पीयर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यो मोटरसाइकल एक पटकको फुल चार्जमा १५० देखि १८० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । यसलाई फुल चार्ज गर्न पाँचदेखि छ घण्टा लाग्छ ।

कालो, रातो र निलो गरी विभिन्न तीन फरक कलरमामा उपलब्ध यो मोटरसाइकलको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

प्योर इभी

प्योर इभीले केही दिन अघिमात्र नेपालमा विक्री सुरु गरेको इट्राइस्ट ३५० मा ४ किलोवाट क्षमताको मोटर तथा ३.५ किलोवाट आवरको लिथिएम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुलचार्ज गर्दा १४० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यसलाई फुलचार्ज गर्न ६ घन्टा समय लाग्छ । यसको टप स्पीड सेग्मेन्टमा नै धेरै ८५ किलोमिटर प्रतिघन्टाको रहेको छ । कम्पनीले ‘इट्राइस्ट ३५०’ इलेक्ट्रीक मोटरसाइकलको ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

यात्री पी १

नेपालमा नै बनेको चर्चित मोटरसाइकल यात्री पी १ मा १४ किलोवाट क्षमताको मोटर रहेको छ । यो मोटरसाइकलमा ३ किलोवाट आवरको लिथियमा आयन ब्याट्री उपलब्ध र भने यसलाई एकपटक फुलचार्ज गर्दा ११० किलोमिटरसम्म गुडाउन सकिन्छ । यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा छ ।

यो मोटरसाइकल एकपटक फुलचार्ज गर्न २ घन्टा समय लाग्छ । यसलाई फास्ट चार्जरबाट ४० मिनेटमा फुलचार्ज गर्न सकिन्छ ।
कम्पनीले पी वानको मूल्य ५ लाख ६५ हजारबाट सुरुगरी विक्री वितरण गर्दै आएको छ । यसअलाई आफ्नो आवश्यकता अनुसार फिचर थप गरेर किन्न सकिन्छ ।


Back_to_top