नागढुंगा सुरुङमार्ग संचालन गर्न कर्मचरी भर्ना सुरू, दरखास्त आह्वान

काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनका लागि आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाइएको छ ।

सुरुङ संचालनको ठेक्का पाएको युसिन-एआरटी जेभीले सुरुङ संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनको काम थालेको हो ।

कम्पनीले सुरुङ संचालनका लागि प्राविधिक कामको लागि विशेष सीप र शैक्षिक योग्यता भएका व्यक्तिहरू छनोट गर्नेछ । अप्राविधिक कर्मचारीको हकमा स्थानीयलाई अवसर दिने भएको छ ।

सोही अनुसार आयोजना प्रभावित क्षेत्र धादिङको धुनिबेँसी नगरपालिकाले स्थानीय बेरोजगार नागरिकहरूबाट अप्राविधिक पदका लागि दरखास्त आह्वान गरेको हो ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सुरुङमार्गमा काम गर्न इच्छुक नगर क्षेत्रभित्र भित्रका बेरोजगार (स्थायी बसोबास गर्ने)व्यक्तिहरुलाई ७ दिनभित्र निवेदन दिन आह्वान गरेको हो ।

सूचना अनुसार कम्तीमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका महिला तथा पुरुष दुवैले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।

सुरुङमार्ग संचालन आफैंमा जटिल र प्राविधिक विषय भएकाले प्राविधिक कामको लागि विशेष सीप र शैक्षिक योग्यता भएका व्यक्तिहरू राखिने छ । अप्राविधिक जनशक्तिको हकमा भने प्रभावित स्थानीयलाई प्राथमिकताका आधारमा सीमित संख्यामा रोजगारी उपलब्ध गराइने नगरपालिकाले स्पष्ट पारेको छ ।

नागढुंगा सुरुङमार्ग निर्माणको काम ९९ प्रतिशत सकिसकेको छ । धादिङतर्फ टोल प्लाजा निर्माण र पहिलो नियन्त्रण बाहेक अरु सबै काम सम्पन्न भइसकेको छ । बाँकी काम पनि अन्तिम चरणमा पुगेको अयोजनाले जनाएको छ ।

यो सुरुङ आगामी साउनदेखि औपचारिक रुपमा संचालनमा ल्याउने तयारी छ । यो सुरुङ ५ वर्षसम्म संचालनको ठेक्का युसिन(एआरटी जेभीले कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८०० रुपैयाँ (भ्याट र पीएससहित)मा पाएको छ । कम्पनीसँग गत वैशाख १६ गते स्म्झौता समेत सम्पन्न भइसेकेको छ ।

सुरुङमार्ग २४ सै घण्टा संचालन गर्न १५० जनशक्ति आवश्यक पर्ने बताइएको छ । यद्यपि, ठेक्का पाएको कम्पनीले आवश्यकता अनुसार राख्न सक्ने छ ।

नागढुंगा सुरुङ जापान सरकारको ऋण अनुदानमा निर्माण भएको हो । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । यसको लागत करिब २३ अर्ब रुपैयाँ रहेको छ ।


Back_to_top