काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला सडक निर्माण निकै सुस्त भएको छ । ३ वर्षमा काम सक्ने गरी २०७७ कात्तिक १३ गतेदेखि चारलेनमा स्तरोन्नति थालिएको यो सडकको ६ वर्षमा दुईतिहाई मात्र काम सम्पन्न भएको हो ।
आयोजना तेस्रो पटक थपिएको म्याद भित्र पनि सम्पन्न नहुने निश्चित भएको हो । ठेक्का सम्झौता अनुसार यो सडक निर्माण २०८० कात्तिक ११ मा सकिनुपर्थ्यो । सो अवधिमा काम पूरा नभएपछि पहिलोपटक म्याद २०८१ पुस १३ गतेसम्म म्याद थपिएको थियो ।
त्यस्तै, दोस्रो पटक १ वर्ष (२०८२ पुस १६ गते) र तेस्रो पटक ६ महिना (२०८३ असार १६ गतेसम्म) थपिएको थियो । उक्त म्याद सकिन १ महिना मात्र रहँदा समग्र भौतिक प्रगति ६८ प्रतिशत मात्रै सकिएको छ । आयोजनाको अझै ३२ प्रतिशत काम बाँकी रहेकाले फेरि म्याद थप्ने तयारी भइरहेको छ ।
निर्माण कम्पनी चाइना रेलवे-२ इन्जिनियरिङ ग्रुपले आन्तरिक वित्तीय समस्या देखाउँदै चैतदेखि सडक विस्तारको सम्पूर्ण काम ठप्प पारेको थियो । भौतिक मन्त्रालयले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले गत वैशाख १५ गतेदेखि लहानमा काम पुनः सुरू गरेको पश्चिमी खण्डसडक योजना कार्यालयका प्रमुख उज्जवल श्रेष्ठ बताउँछन् ।
उनका अनुसार ४७.४१ किमीमध्ये हालसम्म ३५.६१ किमी कालोपत्र भइसकेको छ । मुख्य बजार क्षेत्रहरूमा विद्युत्का ट्रान्सफर्मर सार्न ढिलाइ हुनु र बिजुलीको पोल समयमा नहटाउँदा मुख्य बजार क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको हो ।
त्यस्तै, आयोजनाका पूर्वी खण्ड सडक योजना कार्यालयका प्रमुख नीरज शाक्यका अनुसार उक्त खण्डमा ३९.४२ किमीमध्ये हालसम्म २४.५८ किलोमिटर मात्र कालोपत्र भएको छ । विगतमा काम सुस्त हुनुमा कोरोना महामारी, रुख कटानमा ढिलाइ, बिजुलीका पोल नसारिनु र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता मुख्य कारण थिए ।

त्यस्तै, आयोजनाका पूर्वी खण्ड सडक योजना कार्यालयका प्रमुख नीरज शाक्यका अनुसार उक्त खण्डमा ३९.४२ किलोमिटरमध्ये हालसम्म २४.५८ किलोमिटर मात्र कालोपत्र भएको छ । विगतमा काम सुस्त हुनुमा कोरोना महामारी, रुख कटानमा ढिलाइ, बिजुलीका पोल नसारिनु, र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता मुख्य कारण थिए ।
दुई लेनमा रहेको सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म ८६.८३ किलोमिटर सडकलाई सहरी क्षेत्रमा ६ र अन्य क्षेत्रमा ४ लेनमा विस्तार भइरहेको छ । यो सडक एशियाली विकास बैंकको ऋण सहयोगमा फराकिलो बनाउन लागिएको हो । कुल १५ अर्ब ६६ करोड रुपैयाँ (भ्याट र पिससमेत) लागत रहेको यो सडक दुई खण्डमा ठेक्का लगाइएको छ ।
सप्तरीको कञ्चनपुरदेखि कुशहवासम्म ३९.४२ किलोमिटर (पूर्वीखण्ड) र सिरहाको बलानबाट कमलासम्म ४७.४१ किलोमिटर (पश्चिमखण्ड) रहेको छ । दुवै खण्डको ठेक्का चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले पाएको छ । पूर्वीखण्डको ठेक्का ७ अर्ब २७ करोड र पश्चिम खण्डको ८ अर्ब ३९ करोड रुपैयाँमा पाएको हो ।
यो सडक सही क्षेत्रमा ६ लेन र अन्यत्र ४ लेनमा विस्तार भइरहेको छ । जसमा ८६.८३ किमी कालोपत्र, ५४ वटा पुल र २२९ वटा कल्भर्ट निर्माण निर्माण गर्नुपर्ने सम्झौता रहेको छ ।
३ अर्ब बढ्यो लागत
ठेकेदारको ढिलासुस्तीका कारण आयोजनाको लागत सुरूवाती अनुमानितभन्दा झण्डै ३ अर्ब रुपैयाँ बढेको जनाइएको छ । पटक–पटक म्याद थपिएसँगै परामर्शदाता शुल्क, प्रशासनिक खर्च, इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण आयोजनाको सुरूवाती अनुमानित लागतभन्दा वास्तविक खर्च उल्लेख्य रूपमा बढेर गएको छ ।
नेपालस्थित एडीबी निर्देशनालयका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठका अनुसार आगामी असार १६ सम्म परामर्शदाताको सेवा अवधि थप गर्ने क्रममा साइटको विद्यमान अवस्था र थप प्राविधिक निगरानीको आवश्यकता देखिएको छ ।
उनका अनुसार प्रारम्भिक सम्झौता रकमको तुलनामा हालसम्म लागत १८.९८ प्रतिशत (२ अर्ब ९७ करोड २२ लाख रुपैयाँ)ले वृद्धि भएको हो ।
उनले भनले, ‘साइटको अवस्था र थप प्राविधिक निगरानीको आवश्यकताका आधारमा अतिरिक्त विज्ञहरूको परामर्श सेवा आवश्यक देखिएकाले प्रारम्भिक सम्झौता रकमको तुलनामा हालसम्म १८.९८ प्रतिशत लागत वृद्धि भएको हो ।’
तर, निर्माण व्यवसायीको म्याद थप गर्ने क्रममा निर्माण सामग्रीको मूल्य समायोजन सम्बन्धी प्रावधानलाई ‘फ्रिज’ गरिएको हुँदा भविष्यमा पर्न सक्ने अतिरिक्त वित्तीय दायित्वलाई न्यूनीकरण गरिएको आयोजनाले जनाएको छ ।
दुवै खण्डमा सडक निर्माणले अपेक्षित गति लिन नसक्दा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मले हुने स्थिति छ । निर्धारित समयमा पूर्वाधार निर्माण हुन नसक्दा देशको अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने गरेको विज्ञहरू बताउँछन् ।


