काठमाडौं । चिनियाँ पीकअप निर्माता रेडारा अटोको स्वामित्व जिली अटोले खरिद गरेको छ । हङकङ स्टक एक्सचेन्जका अनुसार रेडारा अटो कम्पनी, रेडारा अटो सेल्स कम्पनी र रेडारा थाइल्याण्डको स्वामित्व जिली अटोले खरिद गरेको हो ।
सन् २०२१ मा स्थापना भएको रेडारा ब्राण्ड जिली होल्डिङ ग्रुप अन्तर्गत खुलेको पीकअप उत्पादक कम्पनी हो । यसअघि जिली ग्रुपसँगै अन्य कम्पनीले पनि लगानी गरेकोमा अब जिली अटोको पूर्ण स्वामित्वमा आएको हो ।
विश्वभर विद्युतीय पीकअपको माग बढ्दै गएको समयमा जिली अटोले रेडाराको स्वामित्व एकल बनाएको हो । अब जिलीको नयाँ टेक्नोलोजीको भरपुर प्रयोग गर्दै उत्पादनलाई तिब्रता दिने योजनामा कम्पनी रहेको बताइन्छ ।
अहिले रेडारा पीकअप चीनको शान्डोङ प्रान्तमा रहेको ‘जिबो इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ प्लान्ट’मा उत्पादन हुँदै आएको छ । एशिया, ल्याटिन अमेरिका, मध्य पूर्व र अफ्रिकामा रेडाराका पीकअप बिक्री हुँदै आएका छन् ।
सिजी मोटर्सले नेपालमा रेडारा पीकअप बिक्री गर्दै आएको छ । प्योर इलेक्ट्रीक अप्सनमा मात्रै नेपालमा उपलब्ध रेडारा पीकअप अन्तर्राष्ट्रिय बजारमा भने हाइब्रिड इन्जिनमा पनि उपलब्ध छ ।
टु ह्वील ड्राइभ र फोर ह्वील दुबै अप्सनमा रेडारा बिक्री हुँदै आएको छ । यसको टु ह्वील ड्राइभ भेरियन्टमा ६७ किलोवाट आवरको ब्याट्रीप्याक र २०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ ।
रेडारा फोर ह्वील ड्राइभमा भने फ्रन्टमा ११५ किलोवाट र रियरमा २०० किलोवाटको ड्युल मोटरसेटअप छ । यो मोटरले संयुक्त रुपमा ४२२ हर्सपावर तथा ५९५ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यसको टपस्पीड १९० किलोमिटर प्रतिघण्टा छ ।
फोर ह्वील ड्राइभ रेडारामा ब्याट्रीको साइज पनि ठूलो भएको छ । यसमा ७३ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री छ ।
पिकअप ट्रक सेग्मेन्टको आएपनि रेडारामा एसयूभीको जस्तै अत्याधुनिक क्याबिन छ । यसको क्याबिनमा १४.६ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट स्क्रीन, भ्वाइस कमाण्ड, ८ वटा स्पीकर, ५० वाटको वायरलेस स्मार्टफोन चार्जिङ प्याड पाउन सकिन्छ ।
ड्युलजोन एयर कण्डिसन, रियर प्यासेन्जर एसी भेन्ट, प्यानारोमिक सनरुफ, सिक्सवे पावर एड्जस्टेबल फ्रन्टसिट, इलेक्ट्रीक मल्टिफङ्सनल स्टेरिङ ह्वील, ५४० डिग्री सराउण्ड भ्यू क्यामरा जस्ता फिचरले रेडारालाई लग्जरी एसयूभी सरह बनाएको छ ।


