८ दिनपछि आउँदै टियागो फेसलिफ्ट

काठमाडौं । टाटा मोटर्सले आफ्नो इन्ट्री लेभल ह्याचब्याक टियागोको फेसलिफ्ट मोडल ८ दिनपछि बजारमा ल्याउने भएको छ । टाटाले आगामी अर्को साता (मे २८ तारिख)मा टियागो ह्याचब्याकको फेसलिफ्ट सार्वजनिक गर्ने भएको हो ।

टाटाले ४ महिनाअघि पन्च (ईभी र आइस) फेसलिफ्ट सार्वजनिक गरेको थियो । टियागो टाटाको सबैभन्दा सस्तो गाडी हो समेत हो । कम्पनीले ह्याचब्याक सेग्मेन्टमा आफ्नो उपस्थिति बलियो बनाइ राख्न टियागो अपडेट गरेको हो ।

टाटाले टियागोलाई डेढ वर्षमै फेरि अपडेट गरेको हो । यसअघि जनवरी २०२५ मा अपडेट गरेको थियो । सोबेला टियागोको फेसिया र भित्री क्याबिनलाई थप सुविधाहरू सहित नयाँ रूप दिइएको थियो । आगामी साता सार्वजनिक हुने २०२६ टाटा टियागो फेसलिफ्टमा पनि यस्तै परिवर्तन हुने सम्भावना छ।

२०२६ टाटा टियागो फेसलिफ्ट मोडल विभिन्न सडकमा परीक्षण गरिरहेको छ । सार्वजनिक तस्बिर अनुसार यसको बाहिरी डिजाइनमा केही परिवर्तनहरू भएको देखिन्छ । टियागो फेसलिफ्टमा परिमार्जित एलईडी हेडलाइट र नयाँ एलईडी टेल लाइटसँगै अगाडि र पछाडि एलईडी टर्न इन्डिकेटरहरू आउने छन्। यसको एलोय ह्वीलको डिजाइनमा अलि फरक ज्यामितीय ढाँचा देखिन्छ । एउटा प्लाकले दुवै हेडलाइटलाई जोडेको जस्तो देखिन्छ । फग लाइटहरूलाई अलि तल सारिएको छ ।

नयाँ टियागोको इन्टेरियरमा नयाँ टू स्पोक स्टेयरिङ ह्वील र वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले चल्ने १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रीन, अटो क्लाइमेट कन्ट्रोल जस्ता सुविधाहरू उपलब्ध छन् ।

साथै, टाटाले हालको मोडलमा रहेको एमआईडीको सट्टा ७ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिन सक्छ । यसमा भेन्टिलेटेड सिट र एउटा सिङ्गल पेन सनरुफ समेत हुन सक्छ । टाटाले २०२६ टियागो फेसलिफ्टमा १.२ लिटरको टर्बो पेट्रोल इन्जिन दिन सक्ने सम्भावना छ । हालको टियागोमा १.२ लिटर एनए पेट्रोल इन्जिन र आई सीएनजी डुअल सिलिण्डर छ ।

फेसलिफ्टसँगै टियागोको मूल्यमा पनि केही परिवर्तन हुन सक्नेछ । भेरियन्टको नामकरणमा टाटाले नयाँ ‘पर्सना’ शैली भित्र्याउन सक्छ। थप बडी क्लाडिङ र धेरै ग्राउण्ड क्लियरेन्स भएको २०२६ टियागो फेसलिफ्टको एनआरजी भर्सन पनि आउने अपेक्षा गरिएको छ ।


Back_to_top