काठमाडौं । चीनमा उत्पादन भएका विद्युतीय कारको संख्या नेपालका सडकमा बाक्लिँदै गएका छन् । काठमाडौं उपत्यका र उपत्यका बाहिरका सहरी क्षेत्रमा चिनियाँ ईभीको उपस्थिति निकै बलियो देखिन्छ ।
नेपालको लागि ईभी बहुउपयोगी हो भन्ने कुरा हामीले सन् २०१८ देखि नै निरन्तर उठान गर्दै आएका हौं । अहिले बजारमा ६० प्रतिशत बढी नयाँ कार चीनमा उत्पादन भएका बिक्री हुन्छन् । यसले चिनियाँ कारलाई थप बलियो बनाएको छ ।
पछिल्लो मध्यपूर्वको युद्धपछि त विद्युतीय कारको बिक्री नै उच्च छ । वैशाख महिनामै १ हजार ३४५ युनिट ईभी आयात हुँदा केबल १०३ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको छ । यसले नेपालमा ईभीको मागलाई प्रष्ट पार्छ ।
सडकमा राम्रो संख्यामा गुडिरहे पनि एउटा समूह भने अझै पनि चिनियाँ ईभीमा शंका गर्छ । मूल्यका हिसाबले सस्तो देखेर ईभी किन्नेहरू पनि अझै चिनियाँ उत्पादनसँग ढुक्क भइरहेको देखिँदैन । यद्यपि, चिनियाँ उत्पादन ‘भ्यालू फर मनी’ भएको कारण किन्नेहरू पनि छन् ।
हाम्रो बुझाइमा चिनियाँ ईभीमा ढुक्क हुने कुरा धेरै छन् । ईभीको विकासमा चीनले काम थालेको २५ वर्ष पूराभयो । यस अवधिमा चीनले ईभीको विकासमा मात्रै काम गरेन, त्यसको इको सिस्टम निर्माणमा पनि काम गर्यो । फलतः अहिले चिनियाँ ब्राण्डहरूको उपस्थिति बलियो बन्यो ।
दोस्रो चिनियाँ कारमा प्रयोग भएका ब्याट्रीहरूको सुरक्षामा भएका काम हेरौं । चीनले सन् २०२६ बाट लागू गरेको ब्याट्री मापदण्ड निकै कठोर छ । सुरक्षामा कुनै किसिमको गडबढी नहोस् भन्ने विषयमा चीन सरकार सचेत छ । त्यसैले ब्याट्री आगोमा राखेर टेस्ट गर्ने, पीनले घोप्ने, चिसो स्थानमा लगेर राख्नेदेखि अग्ला स्थानबाट खसाल्नेसम्मका परीक्षण हुन थालेका छन् । यसले आगलागीको जोखिम कम गराएको छ ।
तेस्रो बलियो पक्ष कारहरूको डिजाइन हो । चीनले डिजाइनमा नौलो प्रयोग गरिरहेको छ । धेरै आकर्षक लाग्ने क्रसओभर एसयूभी, लाइफ स्टाइल एसयूभी, फुलसाइज एसयूभी र सेडानमा निकै राम्रो डिजाइन तयार भएका छन् । यसले उपभोक्ता तान्न सफल भएको हो । अहिले अफ्रिका, युरोप र एशियाली देशमा चिनियाँ कार निकै सफल छन् ।
टेक्नोलोजीमा अब्बल चिनियाँ कारको चौथो बलियो पक्ष हो । चिनियाँ कारहरूमा एडास लेभल ४ सम्मको सुरक्षा फिचरमा आउन थालेका छन् । एडास भित्रका सुरक्षा फिचरदेखि ३६० डिग्री क्यामेरासम्म भएका गाडी चीनबाट आउँछन् । मूल्यका हिसाबले पनि २२/२४ लाख रुपैयाँका कारमै टेक्नोलोजीको भरपुर प्रयोग भएको पाइन्छ । यी फिचरले चालकलाई सजिलोसँगै सुरक्षीत यात्रा गर्न सहयोग पुगेको छ ।
पाँचौं बलियो पक्ष मूल्य हो । चीनबाट आयात हुने कारहरू भारत लगायतका देशको तुलनामा सस्ता छन् । ब्याट्री टेक्नोलोजी, मोटरहरू, चीपहरू र टेक्नोलोजी सबै आफ्नै भएको कारण चिनियाँ उत्पादन अन्यको तुलनामा सस्तो छ । नेपाली बजारमै भारतबाट आयात हुने ईभी र चीनबाट आयात हुने ईभीमा ठूलै मूल्य अन्तर पाउन सकिन्छ । त्यसैले चिनियाँ ईभी नेपालमा बलियो हुँदै गएका छन् ।
चिनियाँ ईभीका चुनौती
कुनै पनि कुराको सबलसँगै कमजोर पक्ष पनि हुन्छ । चिनियाँ कारको गुणैगुण मात्र छैन । कमजोरी र चुनौती पनि छन् । नेपालको हकमा मुख्य चुनौती जस्तोसुकै ब्राण्ड आयात हुनु हो । क्षमता र अनुभव नै नभएका व्यक्तिले पनि गाडी जस्तो १० देखि २० वर्षको सर्भिसको दायित्व हुने क्षेत्रमा लगानी गरेर गाडी ल्याएका छन् । यसले भोलिका दिनमा सर्भिस नपाइने चुनौती छ ।
दोस्रो पर्याप्त सर्भिस सेन्टर र पार्ट्सको उपलब्धता छैन । चलेकै ब्राण्डले पनि राम्रोसँग सर्भिस र पार्ट्स ल्याउन सकेका छैनन् । त्यसको मुख्य कारण नाकाको भौगोलिक अवस्थादेखि गाडी बिक्रेताको आर्थिक क्षमता हो ।
केही ब्राण्डको ‘ब्यूल्ट क्वालिटी’, ब्याट्री तथा मोटरमा दिइने वारेन्टी जस्ता विषय पनि छन् । यी विषयमा उपभोक्ता सहजक बन्ने हो भने चिनियाँ ईभीबाट राम्रो फाइदा उठाउन सक्ने अवस्था छ ।


