‘स्टक सक्ने’ चटारोमा आयातकर्ता, ईभीमा थप स्कीम दिँदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षको सुरूवातसँगै गाडी बिक्रेताहरू अघिल्लो वर्षको स्टक सक्ने दौडमा देखिन्छन् । त्यसैले हरेक गाडी बिक्रेताले अंग्रेजी नयाँ वर्षको लागि आकर्षक छुटसहितको स्कीम दिन्छन् ।

दुई वर्ष अगाडिसम्म विद्युतीय गाडीमा स्कीम पाइँदैन थियो । कम्पनीले तोकेकै मूल्यमा गाडी किन्न कुर्नेहरू हुन्थे । अहिले बजारमा बढ्दो प्रतिस्पर्धाको कारण बिक्रेताहरू मूल्य घटाउन र स्कीमहरू दिन बाध्य भएका हुन् ।

सन् २०२५ को मध्यसम्म ५७ लाख मूल्य तोकेर बिक्री हुँदै आएका विद्युतीय कार अहिले बजारमा ४७ लाखमै किन्न पाइन्छ । धेरै गाडी बिक्रेताले नाइमा मोबिलिटी शो र नाडा अटो शोबाटै गाडीको मूल्य घटाएर बिक्री गर्दै आएका छन् ।

अहिले बजारमा एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको नामी र दीपलका कारमा स्कीम उपलब्ध भइसकेको छ । नामीका कारमा नाडा अटो शोको समयमा आएकै स्कीमले निरन्तरता पाएको छ । दीपलको एस-०७ एसयूभीमा निकै आकर्षक ‘बाइ ब्याक ग्यारेन्टी’ र ५ वर्षसम्म खर्च गर्नु नपर्ने स्कीम उपलब्ध छ ।

लीपमोटरले एक्सचेन्ज क्याम्प लगाएको छ । साँग्रिला मोटर्सले बिक्री गर्ने लीपमोटरका गाडीमा नगद छुट, एक्सचेन्ज बोनस, सडक कर र निःशुल्क एसोसरिज उपलब्ध छ । साथै, ट्राभल चार्जर २.२ किलोवाट र होम चार्जर ७ किलोवाटको उपलब्ध गराएको छ ।

ओमोडा÷जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले आफ्ना विद्युतीय कारमा नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गतको ‘ओन दी कार, ओन दी गेम’ स्कीम चलाइरहेको छ । यस स्कीममा ओमोडा जेको ब्राण्डका कार किन्नेले विशेष नगद छुट, एक्स्चेन्ज बोनस, दुई भाग्यशाली विजेतालाई आइफोन र एक जोडीलाई चीन घुम्ने अवसर प्रदान गर्ने भएको छ ।

यसका अलवा ओमोडा/जेको ब्राण्डका कार किन्दा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पनि पाउन सकिन्छ । एक वर्षको बीमा र सवारी कर पनि कम्पनीले तिर्नेछ ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अपग्रेड टु दी पर्फेक्ट ईभी’ स्कीम चलाइरहेको छ । कम्पनीले क्रेटा इलेक्ट्रीकलाई लक्षित गर्दै संचालन गरेको स्कीममा १ लाख रुपैयाँ एक्सचेन्ज बोनस, ७५ हजार नगद छुट, २५ हजार लोयल्टी बोनस, एक वर्षको बीमा र सवारी कर दिने जनाएको छ । कम्पनीले ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा पनि दिनेछ ।

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘ग्रेटेस्ट अफर अफ अल टाइम’ स्लोगन सहित टियागो ईभीमा स्कीम ल्याएको छ । कम्पनीले ल्याएको स्कीममा २० हजार ४७० रुपैयाँबाट टियागो ईभीको मासिक किस्ता सुरू हुने उल्लेख गरेको छ ।

टाटाले यसका अलवा टियागो ईभी किन्ने जोडीलाई बाली भ्रमण वा आइफोन १७ प्रोम्याक्स वा नगद छुट मध्ये कुनै अफर गरेको छ । साथै, एक्सचेन्ज बोनस, गाडीको जीवनभर सिप्रदीको चार्जिङ नेटवर्कमा निःशुल्क चार्ज गर्ने सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज र होम चार्जर दिनेछ ।


Back_to_top