कोरोना सकिएपछि गाडी किन्ने र बेच्ने प्रकृयामा आउला परिवर्तन ? यस्तो छ सर्भे रिपोर्ट

काठमाडौं । कोभिड १९ ले जीवनका विभिन्न पाटोहरुमा असर पारिसकेको छ भनेर भन्नु अब एकदमै सामान्य भइसक्यो । हामी अहिले यस्तो अन्धकारमा बसिरहेका छौं, जहाँ कसैको सानो गल्तीले उसको र उ नजिकका मानिसहरुको जीवन भयावह बनाउन सक्छ ।

अहिलेको सामाजिक दुरी र घरबाटै काम गर्ने प्रतिबन्धित समयमा गाडी वा बाइकका संभावित खरिदकर्ताहरुको दिमागमा कस्ता कुराहरु खेलिहरेका होलान् ? यो अवस्थाले गाडी वा बाइक धनी बन्ने उनीहरुको धारणामा केही परिर्वतन ल्यायो होला ? अहिलेको नयाँ अवस्थाले नयाँ गाडीको योजनालाई प्रभाव पार्ला ? र, उनीहरु गाडी खरिद गर्ने प्रक्रियामा अब कसरी अघि बढ्लान् ? यस्ता प्रश्नहरुको उत्तर खोज्न प्रिमोन एसिया र अटोकार इन्डियाले अनलाइन सर्भे गरेका थिए ।

यो नतिजा उक्त सर्भेमा भाग लिएका १९४४ जनाको प्रतिक्रियामा आधारित रहेको छ । सर्भेमा भाग लिएका मध्ये ९९ प्रतिशत पुरुष थिए भने ८० प्रतिशत एकभन्दा धेरै गाडी भएका घरका सदस्यहरु थिए ।

अहिले गाडीधनीहरु लकडाउनको अन्त्यसँगै गाडीमा लागेको धुलो झार्न र स्टेरिङ वा ह्याण्डल घुमाउन चाहन्छन् । सर्भेले व्यक्तिगत गाडीको प्रयोगमा बढोत्तरी हुने नतिजा दिएको छ, सबै उमेर समूहमा ।

– व्यक्तिगत गाडीको प्रयोग बढेसँगै ट्याक्सी तथा राइड सेयरिङ व्यवसायहरु घट्नेछन् । ३५ वर्ष भन्दा माथिका र २६ देखि ३५ वर्षसम्मकाले राइड सेयरिङ एपहरुको प्रयोग घटाउने बताएपनि २५ वर्षभन्दा मुनीकाले भने यस्ता एपहरु पहिले भन्दा थोरै बढि प्रयोग गर्ने बताएका छन् ।

– सर्भेले आफैंले चलाउने कार सेवाहरु दिने कम्पनी आएमा त्यसको माग भने बढ्ने देखाएको छ ।

– सार्वजनिक यातायात, ट्याक्सी, कार रेन्टल, चालक हायर र दुइपाङ्ग्रे हायर सेवाको माग घट्ने सर्भेमा भाग लिनेहरुको धारणा रहेको छ ।
सर्भेमा भाग लिएका ८२ प्रतिशतले महामारी पछि सार्ववनिक यातायात वा राइड सेयररिङ भन्दा निजी सवारीलाई नै प्राथमिकतामा राख्ने बताएका छन् । यसरी आफ्नो निजी सवारीलाई नै सबैभन्दा सुरक्षित मान्दा नयाँ तथा प्रयोग गरिएका गाडी तथा बाइकको माग बढ्न सक्छ । अटो व्यवसायीहरुले यसरी अवस्था आफ्नो पक्षमाम आउने आश पक्कै पनि राख्न सक्छन् ।

– आफ्नै गाडीको प्रयोगले संक्रमण घटाउन पक्कै पनि मद्दत पुर्याउला । तर, घरमै बसेर काम गर्ने अर्को विकल्प पनि नभएको होइन । सर्भेमा भाग लिएका मध्ये ३४ प्रतिशतले घरमै बसेर काम गर्ने र बाहिर धेरै निस्कन नचाहेको बताएका छन् ।

– ८ प्रतिशत मान्छेले मात्र गाडी भाडामा लिएर चलाउने बताएका छन् । तर, ती गाडी अन्य प्रयोगकर्ताहरुले प्रयोग गरेको हुन नहुने उनीहरुले बताए । यसैगरी ७ प्रतिशतले आफ्नै गाडी किन्नु भन्दा ‘सेल्फ ड्राइभ’ अप्सनमा जाने बताएका छन् ।

सर्भेमा भाग लिएका मध्ये ५७ प्रतिशतले महामारी अघि गाडी किन्ने योजना बनाएका थिए । यी मध्ये करिब ५० प्रतिशतको रोजाइ ‘एसयूभी’ गाडी थियो । तर, गाडी किन्ने योजना भएका मध्ये २७ प्रतिशतको बजेट महामारीको कारणले घटेको छ ।

परिणामस्वरुप एसयूभी गाडी किन्ने योजना भएका मानिसहरु ह्याचब्याक वा सेडानमा जान सक्छन् । यसैगरी बाइकको साटो स्कुटरको माग बढ्न सक्छ । प्रयोग गरिएका गाडी वा बाइकको पनि माग बढ्न सक्छ ।

कोभिडको यो महामारी र लकडाउनको ठूलो वित्तिय मूल्य छ । व्यवसायहरुको बन्दाबन्दी, बेरोजगारी र तलब कट्टी स्वभावीक छन् । त्यसैले होला सर्भेमा भाग लिएका ५० प्रतिशतले सवारी किन्ने योजनालाई केही पछि धकेल्ने बताएका छन् । यो समस्याबाट पार पाउनका लागि अटो निर्माताहरुले केही आर्कषक वित्तीय योजनाहरु अघि सार्लान् । बेरोजगार भएको समय पनि सेमेट्ने गरी ‘इएमआई’ को प्याकेज आउला ।
५० प्रतिशत मानिसले महामारी पछि पनि गाडी किन्ने प्रक्रियालाई यथावत राख्ने बताएका छन् । उनीहरु शोरुममा जाने, टेस्ट ड्राइभ गर्ने र अन्तत डिलरबाटै गाडी किन्ने बताउँछन् ।

– बिगत २ महिनायता डिजीटल माध्यमबाट गाडी किन्ने र बुकिङ लिने प्रबृत्ति पनि बढेको छ । केही गाडी निर्माताहरु गाडी पनि पिज्जा जसरी नै अनलाइनबाट बेच्न चाहन्छन् । तर, यो सोच अलि परको हुनसकछ अहिले किनभने सर्भेमा भाग लिएका मध्ये ९ प्रतिशतले मात्र आफ्नो अर्को गाडी पूर्ण रुपमा अनलाइनबाट किन्ने बताएका छन् ।

– ४१ प्रतिशत मान्छेले महामारीमा पनि अनलाइनमा अनुसन्धान गर्ने तर किन्न भने अफलाइनमै किन्ने विचार व्यक्त गरेका थिए । आफ्नै घरमा गाडी टेस्ट गर्ने र डिलरकोमा नगइकनै बुकिङ, पेमेन्ट जस्ता कामहरु अनलाइनबाटै गर्नेमा धेरैको रुची देखियो । यो अप्सन प्रदान नगर्ने अटो निर्माताहरु पछि पर्ने देखियो ।

– आफ्ना गाडीहरुमा कस्ता खाले फिचरहरु भएको हेर्न चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा धेरै मानिसले ‘एयर प्युरिफायर’ बताएका छन् । किटाणु मार्ने स्यानिटाइजर किट पनि चर्चित जवाफ थियो । कोभिड १९ ले गाडी खरिदकर्ताहरु माझ डर र त्रासको बातावरण बनाइदिएको छ । यी जवाफहरु यसैका प्रतिबिम्ब हुन् । बिजुली गाडीहरु भ्वाइस-एक्टिभेटेड सिस्टम पनी धेरै मानिसहरुले चाहेका फिचरहरु हुन् ।

इलेक्ट्रीक गाडीहरु, स्वचालित कार, सेयरड मोबिलिटी इत्यादी अटो क्षेत्रमा धेरै प्रयोगमा आउने शब्दहरु हुन् । तर, यसमा कोभिडको महामारीले धेरै उथलपुथल ल्याइदिएको छ । के यो महामारीले हामीले सोच्ने तरिकामा परिर्वतन ल्याउला ? गाडीको प्रयोग र खरिदमा केही सकारात्मक छाप छाड्ला ? नछाड्ला भनेर हामी भन्न सक्ने अवस्थामा छैनौ ।


Back_to_top