काठमाडौं । नेपालमा एसयूभी क्रेज रकेट गतिमा विस्तार हुँदै गएको छ । यसअघि पेट्रोल/डिजेलबाट चल्ने एसयूभी मूल्यका हिसाबले महँगो हुँदा ५० प्रतिशतभन्दा कम बजार हिस्सामा थियो ।
ईभीको बिक्री बढेसँगै एसयूभीको बजार ह्वात्तै बढेको हो । इलेक्ट्रीक मोडल एसयूभी भनिए पनि धेरै कार क्रसओभर डिजाइनमा छन् । तर, यसलाई पनि बजारमा एसयूभीकै सेग्मेन्टमा जोडिन्छ ।
सन् २०२४ मा नेपालमा बिक्री भएको कारको कुल संख्या १३ हजार ७८२ युनिटमा एसयूभीको संख्या ८ हजार २२३ थियो । जुन कुल बिक्रीको ५९.६६ प्रतिशत हो ।
सन् २०२५ मा पनि एसयूभीको क्रेज निरन्तर रह्यो । एसयूभीको क्रेज वृद्धि हुँदा ह्याचब्याक, सेडान र एमपीभी सेग्मेन्टको बजार घट्दै गएको देखिन्छ । सन् २०२५ मा एसयूभीको हिस्सा २०२४ को तुलनामा बढेर ६६.३३ प्रतिशत पुग्यो ।
सन् २०२५ मा कुल १५ हजार ८८७ युनिट कार बिक्री भयो । जसमा एसयूभीको संख्या १० हजार ५३८ युनिट थियो । यसले बजारमा निरन्तर एसयूभीको माग बढ्दै गएको देखाउँछ ।
सन् २०२६ को ४५ दिनमा आयात भएको कारहरू केलाएर हेर्दा एसयूभी सेग्मेन्टको हिस्सा ७५.३५ प्रतिशत पुगेको छ । यस अवधिमा १ हजार ४१२ युनिट कार आयात भएकोमा एसयूभीको संख्या १ हजार ६४ युनिट देखिन्छ । अन्य बडी डिजाइनका साधनको आयात अत्यन्त न्यून रहेको छ ।
किन बढ्दै छ एसयूभी क्रेज ?
एसयूभी क्रेज बढ्न थालेको सन् २०१३ बाटै हो । बजारमा फोर्डले ईकोस्पोट मोडल ल्याएसँगै नेपाली उपभोक्ताले एसयूभी किन्न थाले । त्यसअघि टोयोटा, निसान, होन्डा, हुन्डाई, किया जस्ता ब्राण्डका मात्रै एसयूभी थिए । ती सबै एसयूभी तेस्रो मुलुकबाट आयात हुन्थ्यो ।
विस्तारै भारतमा एसयूभी उत्पादन सुरू भएपछि नेपालमा पनि मूल्यका हिसाबले उपभोक्ताको खरिद क्षमता भित्र पर्न थाल्यो । हुन्डाई क्रेटा, सुजुकी ब्रेजा, निसान म्याग्नाइट, टाटा नेक्सन जस्ता मोडलले एसयूभीमा उपभोक्ताको बानी पार्यो ।
अहिले पनि हुन्डाई क्रेटा र भेन्यू, किया सेल्टोस र सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन र पन्च ईभी जस्ता मोडल भारतबाट ल्याएर धेरै बिक्री हुनेमा पर्छन् ।

चिनियाँ ब्राण्डहरूको प्रवेशपछि क्रमिक रूपमा एसयूभीको मार्केट थप बलियो हुँदै गएको छ । बीवाइडी एटो थ्री र एटो टु, एमजी एस फाइभ, दीपल एस-०७ र एस-०५, ओमोडा ई फाइभ, जेको जे सिक्स र आइकार भी-२३, लीपमोटर सी-१०, आयोन भी जस्ता मोडलले ग्राहक तान्दै छन् ।
महिन्द्रा र टोयोटा सदावहार
एसयूभीको कुरा गर्दा नेपालमा टोयोटालाई छुटाउनै मिल्दैन । टोयोटाले ल्याण्ड क्रुजर एलसी ३०० र एलसी २५०, प्राडो, र्याभफोर, कोरोला क्रस, यारिस क्रस, फर्चुनर जस्ता एसयूभी बिक्री गर्छ । मूल्यका हिसाबले धेरै महँगो भएको कारण संख्यात्मक रूपमा धेरै ठूलो भोल्युम टोयोटाको आउँदैन ।
महिन्द्रा अर्को एसयूभीको ठूलो प्लेयर हो । आज पनि नेपालका पहाडी र तराई भूभागमा सबैभन्दा बढी प्रयोग भइरहेको एसयूभीमा महिन्द्राको स्कर्पियो पर्छ । मूल्यका हिसाबले आकर्षक र धेरै मानिसले एक साथ यात्रा गर्न सक्ने भएको कारण स्कर्पियो निकै सफल भएको हो ।
त्यसका अलावा महिन्द्राले फोर ह्वील ड्राइभ एसयूभी कम मूल्यमा नै उपलब्ध गराएको कारण पनि धेरैको छनोटमा परेको हो । महिन्द्रा नेपालमा बोलेरो, एक्सयूभी ७०० र स्कर्पियो एन जस्ता पेट्रोल/डिजेल गाडीको कारण चर्चित छ । साथै, बीइ सिक्स र एक्सईभी नाइन ई जस्ता ईभी एसयूभीको रूपमा महिन्द्राको बिक्री केन्द्रमा उपलब्ध छ ।

