काठमाडौं । विगत तीन वर्षदेखि तीब्र प्रतिस्पर्धा गरिरहेका कम्प्याक्ट एसयूभी क्रेटा, सेल्टोस र स्कर्पियोको बिक्रीमा ७० प्रतिशत गिरावट आएको छ ।
सर्वाधिक सफल यी तीन एसयूभीको बिक्रीमा आएको गिरावटले नेपाली अटोमोबाइल क्षेत्रको बस्तुस्थिति झल्काउँछ भन्दा फरक पर्दैन । हुन्डाई क्रेटा र किया सेल्टोस कोरियन निर्माताले भारतमा उत्पादन गरेका मोडल हुन् । महिन्द्रा भारतीय एसयूभी निर्माताको सफल मोडल हो ।
नेपाली बजारमा बिक्री हुँदै आएका हुन्डाई क्रेटा, कियाको सेल्टोस र महिन्द्राको स्कर्पियोको आयात २०२२ अप्रिल १ तारिखदेखि २०२३ को मार्च अन्तिमसम्मको कुल १ हजार २४० युनिट मात्रै भएको छ । जबकी अघिल्लो आवमा क्रेटाको आयात नै झण्डै १ हजार ६ सय यूनिट थियो ।
त्यसैगरी स्कर्पियो १ हजार ४ सय र सेल्टो झण्डै ९ सय यूनिट आयात भएको थियो ।
नेपालकै सर्वाधिक सफल मध्येको एउटा एसयूभीको पहिचान बनाएको क्रेटा एक वर्षको अवधिमा ४२९ युनिट मात्रै आयात भएको छ । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको क्रेटामा १.५ लिटर, नेचुरल्ली एस्पीरेटेड इन्जिन पाउन सकिन्छ ।
त्यस्तै, महिन्द्रा एण्ड महिन्द्राको बहुचर्चित स्कर्पियोको आयात ४१६ युनिट भएको छ । पहाडी बाटोको राजा पहिचान बनाएको स्कर्पियो अग्नी इनकर्पोरेट प्रालिले त्रिली गर्दै आएको छ ।
महिन्द्रा स्कर्पियो विगत १९ बर्षदेखि नेपाली सडकमा गुड्दै आएको एसयूभी हो । स्कर्पियोमा २.० लिटर डिजेल इन्जिन पाउन सकिन्छ ।
बिक्रीको हिसावले हुन्डाई क्रेटा र महिन्द्रा स्कर्पियो हाराहारीमै किया सेल्टोस रहेको छ । कन्टिनेन्टल ट्रेडिङले एक वर्षको अवधिमा ३९५ युनिट सेल्टोस नेपाल ल्याएको छ ।
कियाले सेल्टोसमा स्मार्ट स्ट्रीम जी १.५ लिटर पेट्रोल इन्जिन दिएको छ । सुरक्षामा अब्बल, आधुनिक डिजाइन र उत्कृष्ट पर्फमेन्सको कारण सेल्टोस सफल मोडल बन्दै गएको छ ।


