सुजुकी र हुन्डाईको इलेक्ट्रीक एसयूभी एक साथ आउने

काठमाडौं । मारुती सुजुकी र हुन्डाईले भारतमा उत्पादन गर्ने विद्युतीय एसयूभी एकसाथ सार्वजनिक हुने भएको छ । यी दुई कम्पनीले ल्याउने इलेक्ट्रीक एसयूभी बहुप्रतिक्षित मोडल हुन् ।

सुजुकीले यसअघि देखाएको ईभीएक्स कन्सेप्टलाई ‘ई-भिटारा’ नामबाट बजारमा ल्याउने छ । ई-भिटारा भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्ने भारतीय मिडिया रिपोर्टहरूले दाबी गरेका छन् ।

हुन्डाईले पनि आफ्नो चर्चित मोडल क्रेटाको इलेक्ट्रीक भर्सन भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गर्दैछ । कम्पनीले जनवरी १५ देखि १७ तारिखकको बीचमा क्रेटा ईभी सार्वजनिक गर्नेछ ।

सुजुकीले ल्याउने ई-भिटारामा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सन रहने छ । कम्पनीले यसलाई १०६ किलोवाट र १२८ किलोवाट क्षमताको दुई फरक मोटर दिनेछ । भिटाराको स्टायण्डर्ड रेन्ज ३५० देखि ४५० किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।

हुन्डाई क्रेटा ईभीमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री रहने छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्ज गर्दा ३५० किलोमिटरसम्म रेन्ज पाउन सकिने छ । साथै, यसमा १०० किलोवाट क्षमताको मोटर प्रयोग हुनेछ ।

अहिले बजारमा रहेको क्रेटाबाट प्रेरित ईभीमा इन्टेरियर फिचरमा भने ठूलो परिमार्जन रहने देखिन्छ । अहिले परीक्षणको क्रममा देखिएको क्रेटा ईभीको सटेरिङ ह्वीलदेखि सिटसम्म फरक छ ।

सुजुकी ई-भिटारा कम्पनीको विल्कुलै नयाँ मोडल हो । टोयोटा र सुजुकी मिलेर विकास गरेको ई-भिटारा एशियासँगै युरोपियन बजारमा समेत बिक्री हुनेछ । मूल्यको हिसाबले यी दुवै एसयूभीमा धेरै भिन्नता रहने छैन ।


Back_to_top