काठमाडौं । जापानी अटोमोबाइल उत्पादक सुजुकीले आफ्ना कम्प्याक्ट कारका लागि नयाँ हाइब्रिड प्रविधि विकास गर्ने भएको छ।
सुजुकी मोटर कर्पोरेसनले प्लग इन सुविधा भएको सिरिज हाइब्रिड र रेन्ज एक्सटेन्डर हाइब्रिड प्रविधि विकास गर्ने योजना सार्वजनिक गरेको हो।
नयाँ प्रविधिमध्ये प्लग–इन सुविधा भएको रेन्ज एक्सटेन्डरलाई सुजुकीले ‘आरईईभी लाइट’ नाम दिएको छ। यस प्रविधिमा कारका पाँग्रा चलाउन विद्युतीय मोटर प्रयोग हुनेछ भने पेट्रोल इन्जिनले ब्याट्रीका लागि विद्युत् उत्पादन गर्नेछ । जापानी ब्राण्डले हल्का रेन्ज एक्सटेन्डर तयार गर्न चार्जिङ जडान र उपयुक्त क्षमताको ब्याट्री पनि थप्ने योजना बनाएको छ।
सुजुकीका अनुसार यसमा ठूलो क्षमताको ब्याट्री प्रयोग गरिने छैन। आवश्यकता अनुसार उपयुक्त क्षमताको ब्याट्री र चार्जिङ पोर्ट राखिनेछ। यसले कारलाई विद्युतीय मोटरबाट चलाउन सकिने र ब्याट्रीको चार्ज सकिन लाग्दा पेट्रोल इन्जिनमार्फत विद्युत् उत्पादन गरेर यात्रा जारी राख्न सकिनेछ । ‘यसमा अत्यधिक ठूलो ब्याट्री नराखी पनि बाँकी चार्जको चिन्ता नगरी सवारी चलाउन सकिने आरईईभी लाइट हुनेछ,’ सुजुकीले भनेको छ ।
कम्पनीले सुजुकी फ्रन्क्स र बलेनो नयाँ हाइब्रिड प्रविधि पाउने सुरुवाती मोडल हुन सक्ने जनाएको छ । यी कारमा १.२ लिटर, ३ सिलिण्डरको जेड१२ई पेट्रोल इन्जिन प्रयोग हुनेछ। उक्त इन्जिनले पाँग्रा सिधै चलाउनुको सट्टा विद्युत् उत्पादन गर्ने जेनेरेटरका रूपमा काम गर्नेछ।
सुजुकीले सिरिज हाइब्रिड र रेन्ज एक्सटेन्डर दुवै प्रविधिलाई छुट्टाछुट्टै विकास गर्नुको सट्टा एउटै आधारमा विकास गर्ने जनाएको छ। यसका लागि साझा प्लेटफर्म र आधारभूत डिजाइन प्रयोग गरिनेछ।
सुजुकीले भनेको छ, ‘यी प्रविधिलाई छुट्टाछुट्टै विकास गर्नुको सट्टा मूल प्लेटफर्म र आधारभूत डिजाइनको साझा आधारमा एकैसाथ योजना बनाएर परिवारका रूपमा विकास गर्नेछौँ ।’
हाल सुजुकीका ग्राण्ड भिटारा, भिक्टोरिस र इन्भिक्टोमा प्रयोग भइरहेको सिरिज–प्यारालल हाइब्रिड प्रविधिको तुलनामा नयाँ सिरिज हाइब्रिड प्रविधि विकास गर्न कम लागत लाग्ने कम्पनीको भनाइ छ।
सुजुकीले नयाँ हाइब्रिड प्रविधिमार्फत इन्धन खपत, ड्राइभिङ प्रदर्शन र लागतबीच राम्रो सन्तुलन कायम गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार नयाँ प्रणालीले परम्परागत पेट्रोल इन्जिन भएको कारको तुलनामा कार्बन डाइअक्साइड उत्सर्जन करिब १५ प्रतिशत घटाउन सहयोग गर्नेछ।
यससँगै सुजुकीले साना तथा कम्प्याक्ट कारमा विद्युतीकरणलाई थप विस्तार गर्ने तयारी गरेको देखिएको छ। फ्रन्क्स र बलेनोमा यो प्रविधि आएपछि सुजुकीका साना कारमा पेट्रोल इन्जिनसँगै विद्युतीय मोटरको प्रयोग अझ व्यापक हुने अपेक्षा गरिएको छ।

