काठमाडौं । सुजुकीको चर्चित एसयूभी जिम्नीको नयाँ संस्करण नेपाली बजारमा आउने भएको छ । नेपालको लागि सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले उक्त एसयूभी नेपाल ल्याउने तयारी सुरु गरेको हो ।
यद्यपी कुन मितिबाट नेपाली बजारमा यसको बिक्री वितरण सुरु हुन्छ भन्ने विषयमा भने केही खुलाईएको छैन ।
‘नेपाली बजारमा जिम्नी ल्याउने तयारी भइरहेको छ, यसको मूल्य, बजार माग र संभावनाको बिषयमा छलफलका क्रममा रहेका छौं’ सिजी मोटोकर्प स्रोतले भन्यो ।
नयाँ संस्करणको जिम्नीमा १.५ लिटर फोर–सिलिन्डर इन्जिन दिइएको छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो एसयूभी म्यानूयल र अटोमेटिक दुबै ट्रान्समिशनमा उपलब्ध रहेको छ ।
यसको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । यसमा वाइप–डाउन इन्टेरियर, हिल–डिसेन्ट कन्ट्रोल, स्टील ह्वील, एन्टी–स्क्राच प्लास्टिक बम्पर, ह्वील आर्क–स्पार्टजस्ता कम्पोनेन्टको प्रयोग गरिएको छ ।
क्लाइमेट कन्ट्रोल–नोभ, आकर्षक तथा कम्फर्टेवल सिट, ३७७ लिटर लगेज–स्पेश, ग्रेटर लेग–रुम, २२५० एमएमको ह्वीलवेश रहेको छ ।
चालकको सुरक्षालाई ध्यानमा राख्दै यसमा एयरब्याग दिइएको छ । यसकासाथै १५ इन्च अलोय ह्वील, एलईडी हेडलाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल स्मार्टफोन मिररिङ्गलगायतका विशेषता दिइएको छ ।

