मजदुरको चुलो बाल्नेदेखि बैंकको पैसा बोक्नसम्म प्रयोग भएकाे गाडी सधैको लागि बन्द

काठमाडौं । चर्चित कलाकार हरिवंश आचार्यले कुनै समय आफुले चढ्दै आएको मारुती सुजुकी जिप्सी बेचेका थिए । तर, गाडी बेचेको दिन आफु रातभर त्यो गाडीको मायाले सुत्न नसकेको र भोलिपल्ट पैसा फिर्ता गरेर त्यो गाडी फेरी फिर्ता ल्याएको प्रसंग उनले भावुक ढंगले आफ्नो आत्मकथामा लेखेका छन् । लामो समयसम्म संसर्ग भए पश्चात सजिवसँग मात्र नभएर निर्जिव वस्तुसँग पनि मानिसको भावनात्मक सम्बन्ध कसरी गाँसिदो रहेछ भन्ने उदाहरण हो यो ।

भारतमा सुजुकी कम्पनीले बनाएको ओम्नी भ्यानसँग पनि साना तथा मझौला नेपाली व्यवसायीहरुको यस्तै भावनात्मक सम्बन्ध देखिन्छ । अन्य भ्यानहरुको तुलनामा धेरै कम मूल्यमा आफ्नो व्यवसायलाई सहज ढंगले सञ्चालल गर्नका लागि व्यवसायीहरुले यो भ्यानको प्रयोग गर्दै आएका छन् । ठूला संस्था र व्यवसायीहरु पनि यो भ्यानको प्रयोगबाट अछुतो रहन सकेका छैनन् ।

तर, दुःखको कुरा, अफिसमा कर्मचारी ओसार पसार गर्ने, बैंकहरुले नगद बोक्नदेखि चालक मजदुरको चुलो बाल्न सहयोग गर्ने यो चर्चित गाडी अब नयाँ किन्न खोज्नेले पाउने छैनन् । यस्तो कुरा सुन्दा यो भ्यान हाल प्रयोग गरिरहेका वा नयाँ किन्ने योजना बनाइरहेकाहरु खिन्न हुने गरेका छन्, कलाकार हरिवंश आचार्य जस्तै !

नयाँ सुरक्षा मापदण्ड पुरा गर्न नसकेर बन्द भएको मारुती ओम्नी भ्यान भारतमा मारुती सुजुकीले २०१९ बाट उत्पादन बन्द गरेको थियो । अब भने नेपालमा पनि यसको बिक्री वितरण बन्द भएको छ ।

सीजी मोटो कर्पले बिक्री वितरण गर्दै आएको ओम्नी भ्यान व्यवसाय संचालन गर्ने उद्यमीको समेत पहिलो रोजाइमा पर्ने गरेको थियो । यसलाई मारुती सुजुकीले कार्गो भ्यान र ५ सिट तथा ८ सिट क्षमतामा यात्रु बोक्न सकिनेगरि ल्याएको थियो ।

‘भारतमा उत्पादन बन्द भएसँगै नेपाल आउन छाडेको थियो । अहिले कम्पनीसँग पनि यो मोडलको गाडी स्टकमा छैन’, सीजी मोटो कर्प स्रोतले भन्यो ।

यात्रु बोक्ने मात्रै नभइ यसको कार्गो भेरियन्ट समेत बिक्री हुँदै आएकोमा दुबै भेरियन्टको उत्पादन तथा बिक्री वितरण सधैको लागि बन्द भएको हो ।

अहिले यसको सट्टामा कम्पनीले इको भ्यानको बिक्री वितरण गर्दै आएको छ । इको भ्यान ओम्नी भ्यानको तुलनामा निकै महंगो रहेको छ ।

यस्तो थियो फिचर

सन् १९८५ मा भारतमा उत्पादन सुरु भएको यो मोडलमा ७९७ सीसी क्षमताको इन्जिन रहेको थियो । ३३७० एमएम लम्बाई, १४१० एमएम चौडाई र १६४० एमएम उचाई रहेको यो भ्यानमा १८४० एमएमको ह्वीलवेस रहेको थियो ।

सहरी क्षेत्रमा १३ देखि १४ किलोमिटरसम्म प्रतिलिटरमाइलेज दिने यो भ्यानमा थ्रि सिलिण्डर मल्टी फ्यूल इन्जेक्सन इन्जिनको प्रयोग गरिएको थियो । उक्त इन्जिनले ३२ बीएच पावर र ५७ एनएम टर्क प्रदान गथ्र्यो ।

यस भ्यानले सून्यदेखि १०० किलोमिटरको रफ्तार भेट्टाउन २० सेकेन्डको समय लाग्थ्यो भने यसको उच्चगति क्षमता १२६ किलोमिटर प्रतिघन्टा रहेको थियो ।

यस्तो थियो अन्तिम समयको मूल्य

कोरोना भाइरसको कारण लकडाउन सुरु हुनु केही दिन अघिसम्म यसको बिक्री वितरण चलिरहेको थियो । तर, लकडाउन केही खुकुलो भएर गाडीका शोरुम खुल्न थालेसँगै यो बजारमा पुरै ‘सोल्ड आउट’ भएको बिक्रेता कम्पनीको भनाई छ ।

यसको कार्गो भ्यानको अन्तिम बिक्री मूल्य १० लाख ९९ हजार रुपैयाँ थियो भने यात्रु बोक्न भेरियन्टको मूल्य १४ ला ७९ हजार रुपैयाँ रहेको थियो ।


Back_to_top