काठमाडौं । सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले नयाँ मोटरसाइकल नाडा अटो शो २०२४ मा प्रदर्शन गर्ने तयारी गरेको छ । कम्पनीले २५० सीसी एड्भेन्चर मोटरसाइकल सुजुकी भी स्ट्रोम २५० ल्याउने तयारी गरिरहेको हो ।
लामो समयदेखि नेपाली बजारमा भी स्ट्रोम २५० ल्याउने तयारी गरिरहेको भएतापनि भदौ ११ गतेदेखि सुरु हुन लागेको नाडा अटो शो २०२४ मा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको कम्पनी स्रोतले जनाएको छ ।
भिजी सुजुकीले अन्य मोडलका मोटरसाइकल आयात नगरिरहेको अवस्थामा पनि अटो शो २०२४ मा भाग लिएको कारण भि स्ट्रोम ल्याउने अनुमान सुरुमै गरिएको थियो । कम्पनीले अहिले सुजुकी एभेनिस १२५ स्कुटर मात्र आयात गरिरहेको छ ।
सुजुकीले नेपालमा नै एसेम्बल प्लान्ट स्थापना गरेर स्कुटर एसेम्बल गर्दै आएको छ । भि स्ट्रोम २५० नेपालमै एसेम्वल गरेर सार्वजनिक गर्ने हो भने आकर्षक मूल्यमा आउने अनुमान गर्न सकिन्छ । एड्भेन्चर सेग्मेन्टको यो मोटरसाइकलले केटीएम २५० एड्भेन्चरसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
यो मोटरसाइलकमा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा पनी ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
भी स्ट्रोम २५०को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ । यसमा एलइडी लाइट्स, एबीएस, डिजिटल कन्सोल जस्ता फिचर उपलब्ध छ ।

