टाटाको ईभी विक्रीमा झिनो गिरावट, नयाँ प्लान्टपछि उत्पादन बढ्ने

काठमाडौं । टाटा मोटर्सको ईभी उत्पादनमा ४.४ प्रतिशतले घटेको छ । टाटाले सार्वजनिक गरेको २०२२ अगस्ट महिनाको विक्री तथ्यांकमा ईभीको विक्री घटेको हो ।

टाटाले नेक्सन ईभी, टिगोर ईभी र एक्सप्रेस टी गरी तीन मोडल उत्पादन र विक्री वितरण गर्दै आएको छ । यी तीन मोडल जुलाई २०२२ को तुलनामा अगस्ट २०२२ मा कम विक्री भएको तथ्यांक टाटाले सार्वजनिक गरेको हो ।

भारतीय बजारमा भएको एक महिनाको टाटाको ईभी होलसेल विक्री तथ्यांक अनुसार अगष्ट २०२२ मा ३ हजार ८४५ यूनिट ईभी बजारमा पठाइएको छ । जुन अघिल्लो जुलाई महिनामा ४ हजार २२ यूनिट थियो । अघिल्लो महिनाको तुलनामा अगष्टमा १७७ यूनिट कम ईभी उत्पादन भएको हो । तर, २०२१ अगष्टको तुलनामा भने २७६ प्रतिशतले विक्री बढेको हो । २०२१ अगष्टमा १ हजार २२ यूनिट मात्रै ईभी विक्री भएको थियो ।

अगष्टमा टाटाको कम्बस्चन इन्जिन युक्त गाडीको विक्री पनि जुलाईको भन्दा १६२ यूनिट मात्रै कम भएको छ । अगष्टमा ४३ हजार ३२१ यूनिट कम्बस्चन कार टाटाले विक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

टाटाले अगष्ट महिनामा ईभी र आईसी इन्जिन मिलाएर ४७ हजार १६६ यूनिट गाडी विक्री गरेको छ । जुन जुलाईको तुलनामा ३३९ यूनिट कम हो । जुलाईमा ४७ हजार ५०५ यूनिट कार विक्री भएको थियो ।

ईभीको उच्च माग र उत्पादन क्षमता कम भएको भन्दै टाटाले फोर्डको गुजरात प्लान्ट खरिद गरेको छ । यो प्लान्टबाट अबको केही महिना भित्रै उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि टाटाको ईभी उत्पादन र विक्री दुबै बढ्ने छ ।


Back_to_top