अन्ततः टाटाले छुट्टाउने भयो कार र कमर्शियल सेग्मेन्ट

काठमाडौं । भारतको ठूलो अटोमोवाइल कम्पनी टाटा मोटर्सले प्यासेन्जर भेहिकल र कमर्शियल भेहिकल बिजनेश छुट्याउने भएको छ । दुई फरक कम्पनीको नेतृत्व छनोटसँगै अहिलेसम्म एकै ठाँउबाट हुँदै आएको ब्यवसाय छुट्टिने भएको हो ।

टाटा मोटर्सले प्यासेन्जर सेग्मेन्टको लिडर शैलेश चन्द्रालाई बनाएको छ भने गिरिश वाघलाई कमर्शियल भेहिकलको नेतृत्व सुम्पेको छ ।

अघिल्लो महिना मात्रै भारतको ‘नेशनल कम्पनी ल ट्रिव्यूनल’ले टाटा मोटर्सलाई प्यासेन्जर र कमर्शियल सेग्मेन्टको ब्यवसाय छुट्याउन स्विकृति दिएको थियो ।

अक्टुबर १ तारिखदेखि शैलेश चन्द्रा टाटा मोटर्सको नयाँ प्रबन्ध निर्देशक तथा सीईओ नियुक्त भएका छन् । उनको कार्यकाल ३ वर्षको हुनेछ । चन्द्रा यसअघि टाटा प्यासेन्जर इलेक्ट्रीक मोविलीटीको प्रबन्ध निर्देशक थिए । उनले उक्त पद पनि निरन्तर रहनेछ ।

कम्पनीले गिरिश वाघलाई पनि सोही मितिबाट टाटा मोटर्स लिमिटेड कमर्शियल भेहिकल बिजनेश युनिटको प्रबन्ध निर्देशक तथा सीईओ नियुक्त गरेको हो । वाघलाई नयाँ बन्ने कम्पनीको अतिरिक्त संचालकको जिम्मेवारी पनि दिइएको छ ।

टाटा मोटर्सले यी दुई कम्पनी छुट्टाएर ‘टीएमएल कमर्शियल भेहिकल लिमिटेड’का नाममा नयाँ पब्लिक कम्पनी बनाउन लागेको हो ।

टाटा मोटर्सले कम्पनीका ग्रुप सीएफओ पीबी बालाजीलाई ज्यागुअर ल्याण्ड रोभर युकेको सीईओमा नियुक्त गरेको छ । बालाजीले आगामी नोभेम्बर १७ बाट जेएलआरको सीईओका रुपमा काम थाल्नेछन् ।


Back_to_top