काठमाडौं । टाटा मोटर्स इन्डियाले प्यासेन्जर कार बिक्रीमा छलाङ मारेको छ । कम्पनीले सन् २०२६ को मार्चमा मात्रै कुल ६६ हजार ९७१ युनिट कार बिक्री गरेको हो ।
यो गत वर्ष सन् २०२५ को सोही अवधिको तुलनामा २९.११ प्रतिशत धेरै हो । टाटाले गत वर्ष मार्चमा कुल ५१ हजार ८७२ युनिट कार बिक्री गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष १५ हजार ९९ युनिट धेरै बेच्न सफल भएको हो । टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो ।
मार्चमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले मार्चमा भारतमा मात्रै ६६ हजार १९२ युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा २८.२४ प्रतिशत धेरै हो । गत वर्ष मार्चमा ५१ हजाार ६१६ युनिट मात्रै बिक्री गरेको थियो ।
टाटाको निर्यात तेब्बरले बढेको छ । गत वर्ष मार्चमा २५६ युनिट कार निर्यात गरेको टाटाले यस वर्ष ७७९ युनिट निर्यात गरेको छ । यो २०४.३० प्रतिशतको वृद्धि हो ।
मार्चमा टाटाको ईभी बिक्री पनि ७७.३६ प्रतिशतले बढेको छ । सन् २०२५ को मार्चमा ५ हजार ३५३ युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको कम्पनीले यो वर्ष ९ हजार ४९४ युनिट बेच्न सफल भएको हो ।
टाटाले पन्च ईभी फेसलिफ्ट ल्याएसँगै ईभी बिक्रीको रफ्तार झन् बढेको हो । चाँडै सियरा ईभी पनि बजारमा ल्याउँदै छ ।

