काठमाडौं । ललितपुर महानगरपालिकाले वातावरण भ्यान संचालनमा ल्याएको छ ।
महानगरको वातावरण संरक्षण र सरसफाइ व्यवस्थापनलाई थप चुस्त बनाउन महानगरले बिहीबारदेखि उक्त भ्यान संचालनमा ल्याएको हो ।
महानगरका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमका बीच उक्त भ्यानको शुभारम्भ गरेका हुन् ।
यो भ्यान महानगर प्रहरीले प्रयोग गर्नेछन् । उनीहरूले यो भ्यानमार्फत महानगर क्षेत्रमा जथाभावी खुला रूपमा आगो बाल्ने, प्लास्टिकजन्य वस्तु जलाउने, सडकमा अत्यधिक धुवाँ फाल्ने सवारी साधन र मापदण्ड विपरीत सञ्चालित उद्योगहरू लगायत वातावरण प्रदूषण गर्ने कार्यको अनुगमन गर्नेछन् ।
वातावरण भ्यानको परिचालनले जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने र सडक किनारका रुखबिरुवामा क्षति पुर्याउनहरू माथि तत्काल कारबाही गर्न सहज हुनेछ ।
महानगरभित्र बढ्दो प्रदूषण नियन्त्रण र वातावरणीय अनुशासन कायम गराउन यो भ्यानले सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ ।

