काठमाडौं । टाटा मोटर्सले सन् २०१८ मा सब फोर मिटर सेग्मेन्टमा नेक्सन बजारमा ल्याएसँगै यसले टाटा मोटर्सको ‘पोर्टफोलियो’ नै परिवर्तन गर्दै लगेको देखिन्छ । नेपालमा पनि नेक्सनले सफल मोडल सुमोको भरपाई गरेको देखिन्छ ।
अझ टाटा नेक्सनले ग्लोवल एनक्याप रेटिङमा ५ स्टार पाएपछि यसको विक्री भारतमा उच्चदरमा बढ्दै गएको छ । सब फोर मिटर एसयूभी खोज्ने ग्राहकले एक पटक नेक्सन हेर्न र किन्न थालेको विक्री तथ्यांकले देखाएको छ ।
नेक्सनको पहिलो जेनेरेशन मोडल नेपाल राम्रो संख्यामा विक्री गर्न सफल भएको सिप्रदी ट्रेडिङले अहिले यसको फेसलिफ्ट मोडल विक्री गर्दै आएको छ भने, नेक्सन इभीको पनि विक्री सुरु गरेको छ ।
यूनिक डिजाइन, सहज ह्याण्डलिङ, राइड क्वालीटी र यसमा उपलब्ध फिचरको कारण निरन्तर यसको विक्री बढ्दै गएको देखिन्छ । यस्तोमा नेक्सनलाई सफल बनाउन सहयोग गरेका केही विषयलाई यहाँ हामीले उल्लेख गरेका छौं ।
१. सेफ्टी
ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउने नेक्सन पहिलो भारतीय निर्माताले उत्पादन गरेको सब फोर मिटर एसयूभी थियो । पछि यो उपलब्धी महिन्द्रा एक्सयूभी ३०० ले पनि पाएको थियो ।

क्र्यास टेस्टमा सबैभन्दा सुरक्षीत कारको स्कोर पाएसँगै यसको विक्री बढ्दै गएको थियो । कम्पनीले यसमा ड्यूल एयरव्याग, इबीडी सहितको एबीएस, ब्रेक असिस्ट, ट्रायाक्सन कन्ट्रोल, इएसपी तथा डिसब्रेक जस्ता फिचर प्रदान गरेर सुरक्षाको मापनमा अब्बल साबित गरेको हो ।
इलेक्ट्रीक मोडलको अहिलेसम्म क्र्यास टेष्ट भएको छैन । तर, समान डिजाइन र मेटेरियल प्रयोग गरेर उत्पादन भएकोले यसले पनि ५ स्टार रेटिङ पाउने अपेक्षा गरिएको छ ।
२. प्रफर्मेन्स
टाटा नेक्सन पेट्रोल तथा डिजल दुबै इन्जिन अप्सनमा उपलब्ध रहेको छ । टाटाले पेट्रोल १.२ लिटर इन्जिनमै टर्बो चार्ज्ड दिएर यसको पावरलाई अन्यको तुलनामा उत्कृष्ट बनाएको छ । टाटाको १.२ लिटरको टर्बो पेट्रोल इन्जिनले १२० पीएस पावर र १७० एनएम टर्क प्रदान गर्छ ।
त्यस्तै यसमा प्रयोग भएको १.५ लिटरको डिजल इन्जिनले ११० पीएस पावर तथा २६० एनएम टर्क उत्सर्जन गर्छ । टाटाले बेस भेरियन्टबाटै सिक्स स्पीडको गियरबक्स दिएको छ । यसमा इको, सिटी र स्पोर्टस् ड्राइभिङ मोड पनि दिएको छ । टाटा नेक्सन अटोमेटीक गियरबक्समा पनि उपलब्ध रहेको छ । इभीको पर्फमेन्स पनि निकै उत्कृष्ट रहेको छ ।
नेक्सन इभीमा ३०.२ किलोवाट आवरको व्याट्री प्रयोग भएको छ भने ९५ किलोवाट आवरको मोटर दिइएको छ ।
३. डाइनामिक्स
टाटा नेक्सन सबैखाले बाटाहरुमा उत्कृष्ट प्रफर्मेन्स दिने क्षमता राख्छ । विशेषत कच्ची तथा बिग्रिएका उबडखावड बाटाहरुमा टाटा नेक्सनको २०९ एमएमको ग्राउण्ड क्यिरेन्सले राम्रो काम गर्ने क्षमता राख्छ । यसमा प्रयोग भएको सस्पेन्सनले कच्ची बाटाहरुमा समेत क्यावीनमा जर्क पैदा गर्दैन ।
हाइवेमा हाईस्पीडमा चलाउँदा समेत टर्नहरुमा यो कार राम्रो स्टेबल रहेको छ । स्टेरिङ ह्वीलको राम्रो रेस्पोन्स रहेको छ । यसको क्लच एकदमै लाइट रहेको छ जसले डिजल इन्जिनमा समेत राम्रो पफर्मेन्स दिन्छ । यी सबै कुरा इभीमा पनि पाउन सकिन्छ ।
४. माइलेज
विश्वव्यापी रुपमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि कार चालकको टाउको दुखाईको विषय बनेको छ । अझ कम्प्याक्ट एसयूभी चढ्ने वर्गलाई पेट्रोलको मूल्य धेरै चासोको विषय हुन्छ । हुनत माइलेज भनेको चालकको ड्राइभिङ स्टाइल तथा गियरबक्स अप्सनले धेरै भर पार्छ । तैपनी टाटा नेक्सनको पेट्रोल इन्जिनले सिटी ड्राइभमा एभरेजमा ११ देखि १६ किलोमिटर तथा हाइवे ड्राइभमा १५ देखि १९ किलोमिटरको माइलेज दिन्छ ।

त्यस्तै डिजल इन्जिनले सिटीमा १४ देखि १८ किलोमिटर तथा हाइवेमा १६ देखि २२ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ । जुन यही सेग्मेन्टको अन्य कारको दाँजोमा उत्कृष्ट हो ।
इभीको रेञ्ज पनि ठिकठाक रहेको छ । कम्पनीले यसको रेञ्ज ३१२ किमि दावी गरेको भएपनि रियल टेष्टमा २२० देखि २५० किलोमिटरसम्म पाउन सकिन्छ ।
५. ग्राउण्ड क्लियरेन्स
नेपालमा व्यापक रुपमा बाटो विस्तार भइरहेका छन् । यही निर्माणको क्रममा नयाँ नयाँ ठाँउमा बाटाहरु बनिरहेका छन् । जुन कच्ची तथा वर्षामा ज्यादै बिग्रिने किसिमका छन् । तर, टाटा नेक्सनमा दिएको २०९ एमएमको ग्राउण्ड क्लियरेन्सले यो कारलाई नेपालका धेरैजसो चल्तीका रुटमा कुनै समस्या पर्ने छैन ।
टाटा नेक्सन बेनी जोम्सोम जस्तो कच्चिबाटो मार्फत मुस्ताङसम्म सजिलै पुगिसकेको छ । यही ग्राउन्ड क्लियरेन्स इभीमा पनि पाउन सकिन्छ ।
६. कम्फर्ट तथा स्पेस
टाटा नेक्सनमा प्रयोग भएको सीट एकदमै उत्कृष्ट रहेको छ । यसको क्यावीन स्पेस अगाडि बस्दा होस् पछाडि दुबैतर्फ आरामदायी रहेको छ । जसले गर्दा लामो दुरीको यात्रामा समेत नेक्सनमा थकावट महशुस हुँदैन । अझ नेक्सनको फेस लिफ्टमा सफ्टटच मेटेरियलको प्रयोगले यसको क्याविनलाई थप प्रिमियम बनाएको छ ।

यसमा रहेको विभिन्न स्टोरेज स्पेशले छाता, वाटर बोटल, ग्लोब्स, जुस क्यान, मोवाइल जस्ता साना धेरै भन्दा धेरै सामानहरु लिएर यात्रा गर्न सकिन्छ । बुटमा रहेको ३६८ लिटरको विशाल स्टोरेजले लामो यात्राहरुमा निस्कदा धेरैवटा व्याग तथा सुटकेसहरु लिएर हिड्न सहयोग पुग्छ ।
७. अत्याधुनिक फिचर तथा टेक्नोलोजी
कार छनौट गर्दा ग्राहकले सबैभन्दा धेरै हेरिने विषय यसमा रहेको फिचर र टेक्नोलोजी नै हो । नेक्सन फिचर लोडेड कार हो । यसको बेस भेरियन्ट मै प्रोजेक्टेर हेडल्याम्प तथा डेटाइम रनिङ लाइट पाउन सकिन्छ । अन्य भेरियन्टमा हर्मन साउण्ड सिस्टम, अल पावर विण्डो, सनरुफ तथा क्रुज कन्ट्रोल जस्ता आधुनिक फिचरहरु रहेका छन् ।

यसको नयाँ फेसलिफ्ट मोडलमा आईआरए कनेक्टेड कार टेक्नलोजी रहेको छ जसले भ्वाइस कमाण्ड अनुसार काम गर्छ । त्यस्तै आइआरए कनेक्ट एपले जियोफेन्सीङ, रिमोट लक/अनलक तथा लाइभ लोकेसन रियल टाइममा देखाउँछ । यी सबै फिचर इलेक्ट्रीक कारमा पनि पाउन सकिन्छ ।


