काठमाडौं । टाटाको नयाँ इलेक्ट्रीक एसयूभी पन्च भारतमा बुकिङ खुल्ला हुने भएको छ । कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याउन लागेको पन्चको बुकिङ आगामी साताबाट खोल्न लागेको हो ।
पन्च ईभी टाटा मोटर्सको लागि २०२४ को पहिलो नयाँ मोडल भएर आउन लागेको हो । कम्पनीले डिटेल सार्वजनिक नगर्दै यसको फिचरहरुको बारेमा समाचार बाहिर आएका छन् । समाचारमा आए अनुसार कम्पनीले २५ र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा पन्च ईभी ल्याउन लागेको हो ।
टाटा नेक्सनमा ३० र ४० किलोवाट आवरको ब्याट्री उपलब्ध छ । नेक्सन ईभीभन्दा कम मूल्यमा आउने भएको कारण यसमा केही सानो ब्याट्री दिइएको हो । कम्पनीले नेक्सन जस्तै पन्च ईभीलाई पनि मिड रेन्ज र लङ रेन्ज नाम दिएर ल्याउन लागेको हो ।

टाटाको अल्फा प्लेटफर्ममा बनेको पन्च ईभीमा जिपट्रोन सेकेन्ड जेरेशन प्रविधिको प्रयोग भएको छ । यसमा रहेको ब्याट्रीलाई लिक्विड कुल्ड ब्याट्री र फ्रन्ट ह्वील ड्राइभ सिस्टम सहित पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर दिएर ल्याउन लागेको हो ।
टाटाले पन्च ईभीमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको इन्फर्मेशन डिस्प्ले दिएको बताइन्छ । चार वटै चक्कामा डिस्क ब्रेक, टु स्पोक स्टेरिङ ह्वील जस्ता फिचर यसमा रहने छन् ।
यसमा रहेको मोटरको विषयमा केही जानकारी बाहिर आएको छैन । सम्भवत ७० र १०० किलोवाट आवरको मोटरमा पन्च ईभी आउन सक्नेछ ।

