नेपालमा देखियो बीवाइडीको ‘टाङ हाइब्रिड’

काठमाडौं । न्यू इनर्जी भेहिकल लिडर बीवाइडीको टाङ प्लगइन हाइब्रिड कार काठमाडौंमा देखिएको छ । बीवाइडीको नक्साल शोरुममा देखिएको टाङ हाइब्रिड नेपालमा बिक्री सुरु हुन लागेको हो कि भन्ने धेरैको जिज्ञासा हुनसक्छ ।

अहिले काठमाडौंमा देखिएको टाङ ईभी बिक्री गर्ने कम्पनीको कुनै योजना नरहेको साइमेक्स इंक प्रालिले जनाएको छ । कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार उपत्यकामा देखिएको टाङ ईभीमा चिनियाँ पर्यटक आएका हुन् ।

‘चीनबाट पर्यटकहरु हाइब्रिड कार लिएर नेपाल घुम्न आएको भन्ने सुनेको छु । तत्काल यी गाडी नेपाल ल्याउने योजना छैन । तर, पर्यटकको कारण बीवाइडीका हाइब्रिड कार काठमाडौं आइपुगेको छ । यो हाम्रो पर्यटन क्षेत्र र बीवाइडी ब्राण्डको लागि पनि राम्रो कुरा हो’, श्रेष्ठले मेरोअटोसँग भनिन् ।

काठमाडौंमा देखिएको टाङ हाइब्रिडमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन रहेको छ । यसको इलेक्ट्रीक मोडले सिंगल चार्जमा ११२ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

बीवाइडी न्यू इनर्जी भेहिकलको लिडर कम्पनी हो । कम्पनीले सन् २०२२ सम्म ईभीको तुलनामा हाइब्रिड कार धेरै बिक्री गर्दै आएको थियो । तर, सन् २०२३ बाट भने ईभीको बिक्री बढी हुन थालेको छ ।

नेपालमा अहिलेसम्म पूर्ण इलेक्ट्रीक कार मात्रै बीवाइडीले उपलब्ध गराउँदै आएको छ । नेपालमा हाइब्रिड कारको खासै माग नभएकाले निकट भविष्यमा पनि कम्पनी ईभीमा केन्द्रित रहन सक्ने देखिन्छ ।


Back_to_top