काठमाडौं । टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक पन्च ईभीको फेसलिफ्ट संस्करण दुई सातापछि बजारमा ल्याउने भएको छ ।
कम्पनीले पन्च ईभीको फेसलिफ्ट मोडल फेब्रुअरी २० मा सार्वजनिक गर्ने तय गरेको हो । गत महिना पेट्रोल भेरियन्टको फेसलिफ्ट बजारमा ल्याएको टाटाले पन्च ईभीको फेसलिफ्ट मोडल ल्याउने तयारीमा जुटेको हो ।
टाटा पन्च ईभीको फेसलिफ्ट मोडल डिजाइन परिवर्तनसँगै नयाँ फिचर थपिएर आउने अपेक्षा गरिएको छ । नयाँ टाटा पन्च ईभी आइस संस्करणको जस्तै केही मिल्दोजुल्दो डिजाइनमा आउने सम्भावना छ। तर पन्च ईभी नै टाटाको नयाँ डिजाइन ल्याङग्वेजको सुरुवाती मोडल भएकाले धेरै परिवर्तन नहुने अनुमान गरिएको छ।
फेसलिफ्ट मोडेलमा शार्प एलईडी हेडल्याम्प, एलईडी डीआरएल र कनेक्टेड एलईडी टेललाइटहरू देख्न सकिने छ। टाटाले यसमा क्लोज्ड प्यानल ग्रिल, अगाडिको चार्जिङ पोर्ट, एरो-स्टाइल एलोय ह्वीलहरूलाई निरन्तरता दिएको छ ।
टाटाले नयाँ पंन्च आइसमा नियमित पन्चभन्दा केही बढी फिचर दिएको थियो । नयाँ ईभी मोडलमा झन् धेरै अपग्रेड देख्न सकिने अपेक्षा गरिएको छ । फेसलिफ्ट ईभीमा इल्युमिनेटेड स्टेयरिङ ह्वील, क्यापासिटिभ टच कन्ट्रोल प्यानल जस्ता फिचरहरू कायम रहनेछन् । १२.३ इन्चको ठूलो टचस्क्रीन, अझ राम्रो फिट र फिनिश तथा प्रिमियम अपहोल्स्ट्री थपिने अपेक्षा छ ।
यसमा ३६० डिग्री क्यामेरा, भ्वाइस-एक्टिभेटेड सनरुफ, वायरलेस फोन चार्जर, अटो–डिमिङ आईआरभीएम, भेन्टिलेटेड अगाडिका सिटहरू जस्ता आधुनिक फिचरहरू पनि उपलब्ध रहने छन्।
टाटाले हालसम्म फेसलिफ्ट मोडेलको ब्याट्री बारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । हालको टाटा पन्च ईभीमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जसले अधिकतम ३६५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
फेसलिफ्ट मोडल आएसँगै पन्च ईभीले विद्युतीय कार बजारमा आफ्नो पकड अझ बलियो बनाउने अपेक्षा गरिएको छ।


