नेपालमा हिरोको नयाँ मोटरसाइकल बिक्री सुरू, मूल्य ४ लाख माथि

काठमाडौं । हिरोको एक्स्ट्रीम १६० आर मोटरसाइकलको नयाँ भेरियन्टको नेपालमा बिक्री सुरू भएको छ ।

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सीजी मोटरर्सले एक्स्ट्रीम १६० आर मोडलको बीएस ६ ओबीडी टू नयाँ भेरियन्टको बिक्री सुरू गरेको हो ।

कम्पनीले नयाँ इन्जिन सेटअपमा नेपाली बजारमा उपलब्ध गराएको नयाँ भेरियन्ट एक्स्ट्रीम १६० आर मोटरसाइकलको मूल्य ४ लाख १९ हजार ९०० रुपैयाँ तोकेर बिक्री थालेको हो ।

नयाँ भेरियन्ट एक्स्ट्रीममा इन्जिनसँगै अन्य केही फिचरहरू पनि अपडेट भएर आएको हो । यसमा अब सुरक्षा फिचरका रूपमा डबल च्यानल एबीएस सिस्टम पाउन सकिन्छ । यसअघि नेपालमा बिक्री भइरहेको पुरानो भेरियन्टमा सिंगल च्यानल एबीएस र बीएस ६ एफआई इन्जिन सेटअप मात्रै रहेको छ । यो भेरियन्ट पनि बिक्रीका लागि उपलब्ध छ भने यसको मूल्य ३ लाख ९८ हजार ९०० रुपैयाँ रहेको छ ।

नयाँ भेरियन्टमा इन्जिन परिवर्तन भए पनि मोटरसाइकलको पर्फमेन्स समान नै छ । यसमा १६३.२ सीसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, एयर र आयल कुल्ड, बीएस ६, एफआई इन्जिन छ ।

यो इन्जिनले अधिकतम १६.९ पीएस पावर र १४.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स उपलब्ध छ । एक्स्ट्री १६० आर ४.४ सेकेण्डमै ०-६० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने सेग्मेन्टमै पहिलो मोडल हो ।

मोटरसाइकलमा बेस्ट इन क्लास फोर भल्ब टेक्नोलोजी, स्मार्ट सेन्सर सेन्स टेक्नोलोजी, इन्टिग्रेटेड इन्जिन स्टार्ट किल स्वीच, कनेक्टिभिटी सिस्टम, साइड स्ट्यान्ड इन्जिन कटअफ, हाजार्ड वार्निङ लाइट, चार्जिङ पोर्ट, ब्राइटनेस एड्जस्ट गर्न मिल्ने इन्भर्टेड डिस्प्ले र पूरा एलईडी लाइट सेटअप जस्ता अत्याधिक फिचरहरू पाइन्छ ।

साथै, मोटरसाइकलको फ्रन्टमा केवाइबी युएसडी फोर्क, रियरमा ७ स्टेप एड्जस्टेबल मोनोसक, अलोय ह्वील, ट्युबलेस टायर, पेटल डबल डिस्क ब्रेक सिस्टम, डबल च्यानल एबीएस, स्पोर्टी बेलि प्यान एग्जस्ट र नयाँ स्प्लिट सिट रहेको छ ।


Back_to_top