विश्व अटो बजारमा चीनको हिस्सा ३५.६% पुग्यो, कुन ब्राण्डको कति ?

काठमाडौं । सन् २०२५ मा विश्व अटोमोबाइल बजारमा चीनको हिस्सा झण्डै एकतिहाई पुगेको छ । चाइना प्यासेन्जर कार एसोसिएसनका अनुसार सन् २०२५ मा चीनले विश्व अटो बजारमा ३५.६ प्रतिशत हिस्सा ओगटेको हो ।

एशोसिएसनका अनुसार सन् २०२५ मा विश्वभर कुल ९ करोड ६४ लाख ७ हजार युनिट कार बिक्री भएको थियो । सोमध्ये चीनले मात्रै ३ करोड ४३ लाख ५० हजार युनिट बिक्री गरेको हो । चीनले २०२५ मा अघिल्लो वर्षको तुलनामा कार बिक्री ९ प्रतिशतले बढाएको हो ।

२०२५ मा विश्वव्यापी कार बिक्री ५ प्रतिशतले वृद्धि भएको थियो। जसमा संयुक्त राज्य अमेरिकाले १ करोड ६७ लाख २ हजार (१प्रतिशत वृद्धि), भारतले ५५ लाख ८० हजार युनिट (७ प्रतिशत वृद्धि), जापानले ४५ लाख ६० हजार युनिट (३ प्रतिशत वृद्धि) र जर्मनीले ३१ लाख ६० हजार (१ प्रतिशत वृद्धि) कार बिक्री गरेका छन् ।

२०२५ को पहिलो ६ महिनामा चीनको विश्व अटोमोबाइल बजारमा हिस्सा ३६ प्रतिशत थियो । जसमा १ करोड ५६ लाख ५० हजार युनिट बिक्री भएको थियो। त्यसपछि नोभेम्बर महिनामा मात्र चीनको हिस्सा ४० प्रतिशत पुगेको थियो भने डिसेम्बर २०२५ मा ३७ प्रतिशत रह्यो।

पछिल्ला वर्षहरूमा अटो बजारमा चीनको हिस्सा लगातार बढ्दै गएको छ । २०१६ देखि २०१८ सम्म चीनले विश्व अटोमोबाइल बजारको करिब ३० प्रतिशत हिस्सा ओगटेको थियो। २०१९ मा यो हिस्सा घटेर २९ प्रतिशतमा झर्यो । २०२० देखि २०२१ सम्म यो हिस्सा पुनः बढेर ३२ प्रतिशत पुगेको थियो। २०२२ मा चीनको हिस्सा ३३.५ प्रतिशत, २०२३ मा ३३.८ प्रतिशत र २०२४ मा ३४.२ प्रतिशत पुगेको थियो।

सन् २०२५ मा चीनले ८३ लाख २० हजार युनिट सवारीसाधन निर्यात गर्यो । जुन अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत धेरै हो । यससँगै चीनले लगातार तेस्रो वर्ष विश्वकै सबैभन्दा ठूलो सवारी साधन निर्यातकर्ता राष्ट्र बन्यो ।

कुन ब्राण्डको हिस्सा कति ?

सन् २०२५ मा चीन सबैभन्दा ठूलो अटो बजार बने पनि ब्राण्डका आधारमा भने जापानी ब्राण्ड टोयोटा शीर्ष स्थानमा रहेको छ । विश्व अटो बजारमा टोयोटाको हिस्सा १०.८ प्रतिशत रहेको छ ।

त्यसैगरी, सन् २०२५ मा जर्मन ब्राण्ड फक्सवागेनको ८.९ प्रतिशत, कोरियन ब्राउण्ड हुन्डाई कियाको ७.४ प्रतिशत, युरोपियन ब्राण्ड स्टेलान्टिसको ५.५ प्रतिशत, चिनियाँ ब्राण्ड बीवाइडीको ५.४ प्रतिशत हिस्सा रहेका छ ।

त्यस्तै, रेनल्ट निसानले ५.४ प्रतिशत, चिनियाँ ब्राण्ड जिलीले ४.६ प्रतिशत, अमेरिकन ब्राण्ड जनरल मोटर्सले ४.६ प्रतिश, अर्को अमेरिकी ब्राण्ड फोर्डले ४.४ प्रतिशत र चिनियाँ ब्राण्ड चेरी ३.७ प्रतिशत हिस्सा ओगट्दै शीर्ष दशमा रहेका छन् ।


Back_to_top