ठूलो ब्याट्रीमा आयो पन्च ईभी फेसलिफ्ट, यस्तो छ मूल्य

काठमाडौं । टाटा मोटर्सले आफ्नो लोकप्रिय ह्याचब्याक पन्च ईभीको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । गत महिना मात्रै पेट्रोल भेरियन्टको फेसलिफ्ट बजारमा ल्याएको टाटाले नयाँ पन्च ईभी भारतीय बजारमा बिक्री सुरू गरेको हो ।

टाटा मोटर्सले टाटा पन्च ईभीको फेसलिफ्ट ६ भेरियन्टमा बजारमा ल्याएको हो । कम्पनीले फेसलिफ्ट पन्चको बेस भेरियन्टको मूल्य ९ लाख ९६ हजार र टप भेरियन्टको मूल्य १२ लाख ५९ हजार भारतीय (एक्स शोरुम) तोकेको छ ।

कम्पनीले पहिलो पटक आफ्नो इन्ट्रि लेभल इलेक्ट्रीक एसयूभीको फेसलिफ्ट मोडल सार्वजनिक गरेको हो । पन्चको फ्रन्ट डिजाइनमा परिर्वतन गरेर फेसलिफ्ट मोडल ल्याएको हो । पन्च ईभी फेसलिफ्टमा अगाडि परिमार्जित बम्पर राखेको छ भने ग्रिल बन्द डिजाइनको छ । हेडलाइटहरू जोड्ने अघिल्लो कालो ट्रिम हटाइएको छ । वाई आकारका एलईडी डीआरएल र बीचमा राखिएको चार्जिङ फ्ल्यापलाई भने निरन्तरता दिएको छ ।

टाटाले नयाँ पन्च ईभीमा हालकोभन्दा ठूलो ब्याट्री दिएको छ । नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध भएको छ । यी ब्याट्रीले क्रमशः ३५५ किलोमिटर र ४६८ किलोमिटर रेन्द दिनेछ । पुरानो पन्च ईभीमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरको ब्याट्री थियो ।

पन्च फेसलिफ्ट २०-८० मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।

पन्च ३० किलोवाट आवर ब्याट्री अप्सनमा दुई भेरियन्ट स्मार्ट र स्मार्ट प्लस उपलब्ध छ । त्यस्तै, ४० किलोवाट आवर ब्याट्री अप्सनमा भने स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस एस गरी ४ भेरियन्टमा उपलब्ध छ ।

नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइटहरू दिइएको छ ।

फेसलिफ्ट पन्चमा पहिलेकै ड्यासबोर्ड डिजाइन छ । तर, नयाँ ट्रिम फिनिस र अपडेटेड दोहोरो रङ थिम थपिएको छ। यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।

भेरियन्ट अनुसार वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् । सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल(होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगात फिचर छन् ।

कम्पनीले टाटा पन्च अब (बीएएएस) ‘ब्याट्री एज अ सर्भिस’ का रुपमा पनि किन्ने सुविधा दिएको छ । ग्राहकले बाएएएसका रुपमा ६ लाख ४९ हजार रुपैयाँमै टाटा पन्च खरिद गर्न सक्नेछन् । यसमा ब्याट्री सर्भिसका रुपमा लिनु पर्ने हुन्छ । यसरी ब्याट्री एज अ सर्भिस लिदाँ प्रतिकिलोमिटर २.६० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

टाटा मोटर्सल आजैदेखि पन्च फेसलिफ्टको बुकिङ खुलाएको छ । टाटाले पन्चमा लाइफटाइम अनलिमिटेड किलोमिटर वारेन्टिलाई निरन्तरता दिएको छ ।

हाल पन्च ईभी नेपालमा पनि बिक्री भइरहेको छ । सिप्रदी टेडिङ फेसलिफ्ट मोडल पनि चाँडै ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top