काठमाडौं । स्कोडा अटो फक्सवागेन इन्डिया प्रालिले (एसएभीडब्लूआइपीएल) पुणेको चाकनस्थित आफ्नो प्लाण्टमा नयाँ कुशकको उत्पादन आधिकारिक रूपमा सुरू गरेको छ ।
कम्पनीले कुशकको अपडेटेड भर्सनको उत्पादन थालेको हो । यससँगै कम्पनीले सन् २०२६ का लागि स्कोडाको उत्पादन आक्रमक रुपमा अघि बढाएको संकेत गरेको छ ।
नयाँ कुशक ‘मेड इन इन्डिया, फर इन्डिया एण्ड द वल्र्ड’ नारालाई बलियो बनाउँदै ब्राण्डका लागि विशेष महत्व राख्ने मोडेल हो । किनभने, यो इन्डिया २.० रणनीति अन्तर्गत विकास गरिएको पहिलो मोडेल हो । यो भारतीय सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर विशेष रूपमा तयार गरिएको हो ।
उच्च स्तरको स्थानीयकरण, किफायती स्वामित्व खर्च र बलियो निर्यात सम्भावनाका यो एसयूभी निकै बलियो मानिएको छ ।
कम्पनीले ग्राहकलाई आकर्षित गर्न कुशकमा प्रिमियम सुविधाहरू थपेको छ । यसमा सेग्मेन्टमै पहिलोपटक पछाडिको सिट मसाज, प्यानोरामिक सनरुफ, नयाँ ८ स्पीड टर्क कनभर्टर अटोमेटिक ट्रान्समिसन विकल्प दिएको छ ।
नयाँ गियरबक्सले सवारी संचालनको सहजता र परिष्कृत अनुभवलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । जसले कुशकको बजारस्थितिलाई थप बलियो बनाउने छ ।
सुरक्षाका लागि नयाँ कुशकमा एक्टिभ र प्यासिभ गरी ४० वटा फिचर दिएको छ । वयस्क तथा बाल यात्रु दुवैका लागि फाइभ स्टार रेटिङ कायम राखेको छ। यद्यपि, नयाँ कुशकमा स्कोडाले एडास सुविधा भने उपलब्ध गराएको छैन ।
कम्पनीले नयाँ कुशक सन् २०२६ को मार्चदेखि डेलिभरी गर्ने तालिका तय गरेको छ । काइल्याक, साल्भिया, टाइगुन र भर्टुस जस्ता मोडेलहरूसँगै कुशकले भारतमै उत्पादन हुने पोर्टफोलियोमा प्रमुख स्थान ओगटेको छ ।
उत्पादन सुरू भएसँगै स्कोडाले कुशकको युरोपेली ड्राइभिङ गतिशीलता, मजबुत निर्माण गुणस्तर र सुदृढ सुरक्षाको स्थापित पहिचानलाई अझ विस्तार गर्ने विश्वास लिइएको छ ।

