दुई इलेक्ट्रीक एसयूभी नेपाल ल्याउँदै सिप्रदी

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दुई नयाँ एसयूभी नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले नयाँ वर्ष २०२५ को अवसर पारेर नेक्सन ईभी फेसलिफ्ट र नयाँ कर्भ ईभी नेपाल ल्याउने तयारी गरेको हो ।

टाटा नेक्सन नेपालमा सर्वाधिक सफल एसयूभी हो । फिचर लोडेड नेक्सन २०२२ र २०२३ मा सर्वाधिक बिक्री भएको मोडल हो । तर, २०२४ लागेसँगै यसको आयात लगभग बन्द भयो । भारतमा फेसलिफ्ट मोडल आएपनि नेपाल भने आएको छैन । पछिल्लो पटक टाटाले नेक्सन ईभी ४५ किलोवाट आवर क्षमताको ब्याट्रीमा ल्याएसँगै यसलाई सिप्रदीले नेपाल ल्याउन लागेको हो ।

रियल वर्ल्डमै ३०० किलोमिटर माथि रेन्ज दिनेगरी आउने भएपछि नेक्सन ईभीले फेरी उपभोक्ता बीच चर्चा पाउन थालेको छ । पूर्णत नयाँ लुक्स, नयाँ फिचर र ठूलो ब्याट्री अप्सनमा आउने भएसँगै ५० लाखभन्दा कम मूल्यमा उपलब्ध हुने उत्कृष्ट इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा नेक्सन ईभी बलियो मोडल हुने देखिन्छ ।

नेक्सन ईभीभन्दा ठूलो र कुप्पे डिजाइनमा टाटाले पहिलो पटक बनाएको कर्भ ईभी पनि नेपाल ल्याउने तयारी सिप्रदीले गरिरहेको छ । साइजमा ४३ सय एमएमभन्दा ठूलो कर्भ ईभी आफ्नो पृथक डिजाइन र उत्कृष्ट इन्टेरियरको लागि परिचित भैसकेको मोडल हो ।

नेक्सन ईभी फेसलिफ्ट

नेक्सन ईभी फेसलिफ्ट ४५ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर क्षमतामा उपलब्ध हुनेछ । कम्पनीले पहिलो पटक नेक्सन ईभीमा पानारोमिक सनरुफ दिएको छ ।

टाटा मोटर्सका अनुसार नेक्सनमा दिइएको नयाँ ब्याट्रीमा यसअघिको तुलनामा १५ प्रतिशत बढी इनर्जी डेन्सीटी छ । साथै, फास्ट चार्जर सपोर्टको मामलामा पनि उत्कृष्ट छ । नयाँ ४५ किलोवाट आवरको ब्याट्रीलाई १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न केबल ४८ मिनेट लाग्नेछ ।

कर्भ ईभी

टाटाले कर्भ ईभीलाई ४५ र ५५ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध गराएको छ । नेपाली बजारमा कुन ब्याट्री साइजमा आउँछ अहिल्यै एकिन छैन । यसको रियर वर्ल्ड रेन्ज ४०० किलोमिटरसम्म रहेको बताइन्छ ।

‘भेहिकल टु लोड र भेहिकल टु भेहिकल’ चार्ज सुविधा उपलब्ध कर्भ ईभीमा ११२ र १२५ किलोवाट क्षमताको दुई फरक मोटर उपलब्ध छ । सम्भवत नेपाली बजारमा १०० किलोवाटको मोटरमै कर्भ ईभी उपलब्ध हुन सक्छ ।

कर्भ ईभीमा १८ इन्चको अलोय र १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । ड्यासबोर्डमा नेक्सन ईभीको जस्तै १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्कृन, टचवेस क्लाइमेट कन्ट्रोल, ट्रापेजोडियल एसी भेन्ट, फोर स्पोक स्टेरिङ ह्वील, न्याभिगेन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर
छ ।

यी दुबै एसयूभी ग्लोवल एनक्याप क्रयास टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल हो ।


Back_to_top