विद्युतीय गाडी चलाउँदा रेन्ज बढी निकाल्ने ८ उपाए

काठमाडौं । इलेक्ट्रीक भेहिलक चलाउने चालकको आँखा सधैं ब्याट्री कति प्रतिशत बाँकी छ भन्ने हेर्नमै जान्छ । ईभी गुडाउँदै ब्याट्रीको चार्ज कति प्रतिशत घट्यो र अब कति किलोमिटर गुड्न सकिन्छ भन्ने हेर्नु परिरहँदा यसले चालकलाई अनावश्यक टर्चर दिइरहेको भान हुन्छ ।

अझ हाइवेमा लामो रुटमा यात्रा गर्दा त कुन बेला कहाँ पुगेर चार्ज गर्ने हो भन्ने चिन्ताले सताइरहेको हुन्छ । ईभी चलाउँदा केही विशेष कुराहरूमा ध्यान दिएमा एकदमै इफिसियन्ट तरिकाले चलाउन सकिन्छ ।

कम ब्याट्री खर्च गरेर धेरैभन्दा धेरै लामो दूरीको यात्रा गर्न सक्नु ईभी चालकको मुख्य चासोको विषय हुनेगर्छ । यस्तोमा कसरी ईभी चलाउँदा धेरै रेन्ज पाउन सकिन्छ भन्ने विषय चाख लाग्दो हुन्छ ।

रुट प्लान गर्नु

आईसी गाडीको यात्रा गर्दा सबै ठाँउमा पेट्रोल पम्प हुने भएकोले रिफ्युलिङको प्लान गरिरहनु पर्दैन । तर, ईभीको रेन्ज निश्चित हुने र फास्ट चार्जर पेट्रोल पम्प जस्तो यथेस्ट नभएकाले यात्रा गर्ने रुटको बारेमा राम्रो जानकारी राख्नु पर्छ ।

विशेषगरी, भौगोलिक अवस्था, तापक्रम तथा उकालो बाटोले विद्युतीय गाडीको पफर्मेन्समा धेरै फरक पार्ने भएकोले आफू हिँड्ने बाटोको विषयमा जानकारी राख्नुपर्छ । यसको लागि गुगलम्याप जस्ता एपले धेरै सहयोग गर्छन् ।

फास्ट चार्जर भएको स्थान पत्ता लगाउन एनईए चार्जर, इजी चार्ज तथा विभिन्न कम्पनीहरूले बनाएका एपहरू पहिला नै मोबाइलमा राखेर यात्रा सुरू गर्नु राम्रो हुन्छ ।

स्मुद ड्राइभिङ

ईभीको रेन्ज चालकको ड्राइभिङ शैलीमा भरपर्छ । स्मुद ड्राइभिङ ह्याबिट भएका चालकले धेरै रेन्ज पाउँछन् । ईभीलाई एकै नासले समान स्पीडमा चलाउनु राम्रो मानिन्छ । हाइ स्पीड र हार्ड ब्रेकिङ गर्दा ईभीको रेन्ज कम हुन्छ ।

इको मोडको प्रयोग

प्रायः सबै इलेक्ट्रीक भेहिकलमा नर्मल, स्र्पोट्स र इको मोड हुन्छ । स्पोट्स तथा नर्मल मोडमा चलाउँदा धेरै इनर्जी खर्च हुन्छ । लामो यात्रामा निस्कँदा सकेसम्म सधैं इको मोडको प्रयोग गर्नुपर्छ । इको मोडमा चलाउँदा कारको स्पीड नियन्त्रण सजिलो हुन्छ भने इनर्जी खपत पनि कम हुन्छ ।

कारलाई प्रि-कन्डिसन गर्ने

ईभी लिएर निस्कनु अघि क्लाइमेट कन्ट्रोल आफ्नो अवश्यकता अनुसार मिलाउनु पर्छ । गाडी चार्जमै भएको समयमा आफूलाई अनुकूल हुने हिट वा कोल्ड मिलाउन सके क्याबिनको तापक्रम मिलाउन थप इनर्जी खर्च गर्नु पर्दैन । यसले रेन्ज बढाउन सहयोग गर्छ ।

चार्जरमा जोडिहाल्ने

ईभी चलाएर लामो रुटमा जाँदा सकेसम्म फास्ट चार्जर भएको ठाँउमै ब्रेक लिनु राम्रो हुन्छ । जुनबेला खाना÷खाजा खाने वा ट्वाइलेट प्रयोग गर्नु पर्छ, त्यो बेला गाडीमा पनि टपअप गर्न सकियोस् भन्ने कुरा ध्यान दिनु पर्छ ।

फास्ट चार्जर उपलब्ध नभएको स्थानमा लामो समय रोकिन पर्दा आफ्नो गाडीमा रहेको चार्जर जोडिहाल्नु राम्रो हुन्छ ।

ब्याट्री हेल्थ बारे जानकारी लिने

अधिकांश गाडीमा प्रयोग हुने लिथियम आयोन ब्याट्रीको चार्जिङ साइकल प्रयोग हुँदै जाँदा ब्याट्रीको हेल्थ पनि घट्दै जान्छ । ब्याट्री हेल्थ १०० प्रतिशत हुँदा मात्र कम्पनीले तोकेको रेन्ज आसपास पाउन सकिन्छ ।

ब्याट्रीको हेल्थ ९० प्रतिशत भन्दा कम हुन थालेपछि रेन्ज पनि घट्दै जान्छ । त्यसैले ईभीको ब्याट्री हेल्थ जोगाइ राख्नको लागि २० प्रतिशतभन्दा कम तथा ८० प्रतिशत भन्दा बढी चार्ज नगर्नु राम्रो मानिन्छ ।

रिजेनेरेटिभ ब्रेकिङको प्रयोग

ईभीमा हुने रिजेनेरेटिभ ब्रेकिङ सिस्टमले गाडी गुडिरहँदा पनि ब्याट्री रिचार्ज गराउँछ । गाडी ओरालोमा गुड्दा वा मोसनबाट रोकिदा ब्रेक लगाउँदा काइनेटिक इनर्जीलाई ब्याट्रीमा स्टोर गर्न सकिन्छ ।

आफ्नो ईभीमा भएको विभिन्न रिजेनेटिभ मोड मध्ये टेरेन हेरेर कुन उपयुक्त हुन्छ, त्यही अनुसार रिजेनेरेटिभ ब्रेकिङको लेभल प्रयोग गर्नु पर्छ ।

अनावश्यक फिचर बन्द गर्ने

इलेक्ट्रीक कारहरूमा धेरै फिचरहरू हुन्छन् । इन्फोटेन्मेन्ट, इन्टरटेन्मेन्ट तथा एयर कण्डिसनका धेरै फिचरहरू कारको क्याबिनमा हुन्छ । ईभी चलाउँदा अनावश्यक फिचरहरू बन्द गरेर चलाएमा धेरै इनर्जी बचाउन सकिन्छ । फलस्वरुप कारको रेन्ज धेरै पाउन सकिन्छ ।


Back_to_top