काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाई नेपालमा इलेक्ट्रीक एसयूभीको सुरुवात गराउने ब्राण्ड हो । तर, चिनियाँ ईभीको भिडमा छाँयामा परेको कम्पनीले अब भने पाँच नयाँ मोडल नेपाल ल्याउने भएको हो ।
सन् २०२५ मा एकपछि अर्को नयाँ मोडलको योजना बनाएको हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सबैभन्दा पहिला आयोनीक-५ लाई १०० किलोवाटको मोटरमा ल्याउने जनाएको छ ।
त्यसपछि क्रेटा ईभी, इन्स्टर ईभी, नयाँ जेनेरेशन कोना ईभी र आयोनीक-९ एसयूभी हुन्डाईले बजारमा उतार्नेछ । यी सबै मोडल सन् २०२५ भित्रै नेपालमा बिक्री सुरु हुनेछ ।
१. आयोनीक-५ (१०० किलोवाट): कम्पनीले अहिले बुकिङ लिन थालेको १०० किलोवाट मोटर भएको आयोनीक-५ को मूल्य ९२ लाख ९६ हजार तोकिएको छ । सन् २०२१ देखि नेपाली बजारमा उपलब्ध आयोनीक-५ यसअघि १२५ किलोवाटको मोटरमा थियो ।

मोटर पावर घटेसँगै मूल्य सस्तो भएर आउन लागेको आयोनीक-५ ले बजारमा कस्तो प्रभाव पर्छ, त्यो थाहापाउन भने केही महिना अझै कुर्नु पर्ने हुन्छ ।
२. क्रेटा ईभीः हुन्डाईले भारतमा उत्पादन गर्ने क्रेटा ईभी जनवरीमा भारतबाट बिक्री सुरु हुँदैछ । भारतीय बजारमा सर्वाधिक सफल मोडल हुन्डाई क्रेटा फेसलिफ्टमा आधारित रहेर बन्दै गरेको क्रेटा ईभी सम्भवत बजारमा नयाँ गेमचेन्जर मोडलको रुपमा उपलब्ध हुनेछ ।

हुन्डाईले क्रेटा ईभीमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री र १०० किलोवाटको इलेक्ट्रीक मोटरमा उपलब्ध हुनेछ । यसको मूल्यका विषयमा कुनै जानकारी बाहिर आएको छैन ।
३. इन्स्टर ईभी : हुन्डाईले कोरियामा उत्पादन गरेको इन्स्टर ईभी पनि नेपाल आउने छ । कम्पनीको सबैभन्दा सानो एसयूभीको रुपमा नेपाल आउने इन्स्टर ईभी निकै क्लासिक डिजाइनमा तयार भएको छ ।

कोरियन बजारमा दुई मोटर र ब्याट्री अप्सनमा उपलब्ध इन्स्टरमा ४२ र ४९ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । साथै, ७१ र ८४.५ किलोवाट क्षमताको दुई फरक इलेक्ट्रीक मोटर दिइएको छ ।
४. नयाँ जेनेरेशन कोना ईभी : अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ को सुरुवातमै उपलब्ध भएको नयाँ जेनेरेशन कोना ईभी पनि नेपाल आउने छ । कम्पनीले सन् २०२५ को मध्यसम्ममा नेपाल ल्याउने कोना ईभी अहिले बजारमा उपलब्ध मोडलभन्दा विल्कुलै फरक रहेको छ ।

नयाँ जेनेरेशन कोना ईभीमा ४८.६ किलोवाट आवरको लिक्विड कुल्ड इन्जिन दिएको छ । यसमा मोटर भने १०० किलोवाट क्षमताको हुनेछ ।
५. आयोनीक-९ः हुन्डाईको सबैभन्दा ठूलो एसयूभी आयोनीक-९ मा ७६.१ र ९९.८ किलोवाट अवारका दुई ब्याट्री अप्सन रहनेछ । हुन्डाईले यो ईभी ८०० भोल्ट आर्किटेक्चरमा बनाउने छ । अल्ट्रा फास्ट डीसी चार्जर सपोर्ट गर्ने एसयूभीमा भीटुजी (भेहिलक टु ग्रीड) फिचर रहनेछ ।

यसको पावर आउटपुट सिंगल मोटर तथा ड्युल मोटर अप्सनमा क्रमशः १५० र २८० किलोवाट क्षमताको हुनेछ ।


