काठमाडौं । विद्युतीय कारको विक्री बढेसँगै टाटा नेपाली बजारमा सबैभन्दा धेरै गाडी विक्री गर्ने कम्पनी बन्दै गएको छ । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन ईभी र टिगोर ईभीको कारण नेपाली बजारमा निकै राम्रो विक्री पाइरहेको छ ।
नेपाल सरकारले गत बैशाख १४ गतेदेखि पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएसँगै अधिकांश ब्राण्डको सम्पूर्ण गाडी आयात रोकिएपनि टाटासँग कम मूल्यका नेक्सन ईभी र टिगोर ईभी आयात नियमित रहेको कारण बजारमा टाटाको उपस्थिति निकै बलियो देखिएको छ ।
यदि मंसिर २८ गतेपछि सरकारले लगाएको आयात प्रतिबन्ध फुकुवा हुने हो भने टाटाले भारतमा निकै राम्रो व्यापार गरिरहेको पन्च माइक्रो एसयूभी नेपाल ल्याउने छ । गत बैशाख अन्तिममा तिर नै नेपालमा विक्री सुरु गर्ने अपेक्षा गरिएको पन्च आयात खुल्ला भएपनि भने आउने छ । टाटा पन्च जनवरी अन्तिमसम्ममा नेपाल आउने अपेक्षा गर्न सकिन्छ ।
सिप्रदीले टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कार टियागो पनि नेपाल ल्याउने छ । यसलाई नेपाल ल्याउन आयात प्रतिवन्धले केही असर गर्ने छैन । भारतमा जनवरी २०२३ बाट विक्री सुरु हुने टियागो ईभी धेरै संख्यामा बुकिङ भएको टाटा मोटर्सले जनाएको छ । त्यसैले यो कार पनि फेब्रअरी अन्तिमसम्ममा नेपाल आउने छ ।
मूल्यका हिसावले उत्कृष्ट हुने
टाटाले भारतमा ५ लाख ५० हजारदेखि मूल्य तोकेर विक्री गर्दै आएको पन्च माइक्रो एसयूभी नेपालमा २८ लाख हाराहारी सुरुवाती मूल्य तोकेर विक्री सुरु हुने अपेक्षा गर्न सकिन्छ । सरकारले कम्बस्चन इन्जिनमा २५० प्रतिशत कर लगाएको कारण यसको सुरुवाती मूल्य धेरै हुनेछ ।

त्यसैगरी टाटा टियागो ईभीको भारतमा मूल्य ८ लाख ४९ हजारदेखि ११ लाख ७९ हजार रुपैयाँसम्म रहेको छ । यसरी हेर्दा टियागो ईभीको मूल्य २२ लाखदेखि २८ लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।
दुबै कम्प्याक्ट कार
टाटा पन्च माइक्रो एसयूभी डिजाइनमा तयार भएको कार हो । ५ सिट क्षमताको पन्चमा १.२ लिटर क्षमताको इन्जिन दिइएको छ । ११९९ सीसी क्षमताको पन्च माइलेजको लागि पनि उत्कृष्ट मानिन्छ ।
चढ्दा र हेर्दा एसयूभीको अनुभव प्रदान गर्न सक्ने पन्चको इन्जिनले ८४ पीएस पावर प्रदान गर्छ भने प्रतिलिटर १३ देखि १५ किलोमिटरसम्म माइलेज प्रदान गर्नेछ । तर, एआरएआईले प्रमाणित गरे अनुसार आइडल कन्डिसनमा यसले १८ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ ।

टाटा टियागो ह्याचव्याक कार हो । यसमा पनि ५ जनाले यात्रा गर्न सक्ने छन् । यसअघि बजारमा विक्री हुँदै आएको टियागोको इलेक्ट्रीक भर्सनको रुपमा बजारमा आउने यो कारमा २ ब्याट्री अप्सन रहने छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको फरक साइजको ब्याट्री छन् । सम्भवत नेपाली बजारमा २४ किलोवाट आवरको ब्याट्री मात्रै आउन सक्नेछ ।
ठूलो ब्याट्री भएको टियागो एक्सजेड, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी गरी तीन भेरियन्टमा बजारमा आउने छ ।
टाटाले टियागो ईभीमा ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसलाई सिंगल चार्जमा ३१५ किलोमिटर चलाउन सक्ने कम्पनीको दावी छ । तर, यसको बास्तविक रेन्ज २०० किलोमिटर हाराहारी हुनेछ ।


