लुब्रिकेन्ट र स्पेयर पार्टसमा करका दर यथावत

काठमाडौं । सवारीसाधनमा प्रयोग हुने स्पेयर पार्टस र लुब्रिकेन्टमा लाग्ने करमा कुनै फेर बदल भएन । सरकारले बुधबार संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा सवारीसाधनमा प्रयोग हुने लुब्रिकेन्ट र स्पेयर पार्टसमा लाग्ने करमा कुनै किसिमको कारका दरमा परिवर्तन गरेको छैन ।

सरकारले यस पटकको बजेटमा सवारीसाधनमा लाग्ने करका दरमा समेत खासै परिवर्तन गरेको छैन । यसले अघिल्लो वर्ष धेरै कर लगाइएको विषयलाई केही साम्य बनाउन सफल भएको छ ।

‘हामीले नाडाबाट स्पेयर पार्टसमा लाग्ने भन्सार दर ५ प्रतिशत कायम गर्न सुझाव दिएका थियौं तर, त्यसको केही सुनुवाई भएन । यद्यपी करका दरमा कुनै परिवर्तन नभएकाले व्यवसायमा मूल्यको असर पर्ने देखिदैन’ नाडा महासचिब तथा स्पेयर पार्टस व्यवसायी सुनिल रिजालले भने ।

त्यस्तै सरकारले लुब्रिकेन्टमा लाग्दै आएको भन्सार दरलाई पुरानै कायम गरेको छ । आगामी वर्षको बजेटले अटोमोबाइल क्षेत्रलाई केही राहत दिलाएको व्यवसायीहरुको भनाई छ ।


Back_to_top