ठूला सवारीसाधनमा लाग्ने टायरमा ५ प्रतिशत भन्सार थपियो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हिजो संसदमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटले ठूला सवारीसाधनमा प्रयोग हुने टायरमा ५ प्रतिशत भन्सार वृद्धि गरेको छ । सरकारले यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सारदरलाई बढाएर २० प्रतिशत पुर्याएको हो ।

विगतमा टायरमा भन्सार कर १५ रुपैयाँ रहेको थियो । अब टायर आयात गर्दा २० रुपैयाँ कर लाग्ने छ । यसले बजारमा टायरको मूल्य बढ्ने देखिन्छ ।

‘अहिले सरकारले बढाएको भन्सारको असर निर्माण व्यवसायमा देखिने छ । हामी टायर आयात गर्छौ तर, त्यसको मूल्य प्रयोग कर्तामा पर्ने हो । अहिले बढेको भन्सार दरले बजारमा ७ देखि १० प्रतिशतसम्म मूल्यमा फरक ल्याउने छ’, नाडाका सदस्य तथा टायर व्यवसायी बिक्रम सिंघानियाले भने ।

बजेटमा ठूला सवारीमा लाग्ने टायर तथा रबरको नयाँ न्यूमाटिक (वायुपूरित वा हावाभरिएका) टायरहरु निर्माण कार्य, खानी वा उद्योग संचालन निमित्तका गाडीहरु र यन्त्रहरुमा प्रयोग गरिने रबका टायरमा भन्सार दर ५ प्रतिशतले वृद्धि गरिएको उल्लेख गरिएको छ ।


Back_to_top