एक लाखको सामान्य मोटरसाइकलमा १ लाख ४ हजार कर

काठमाडौं । सरकारले १५४ सीसीसम्मको मोटरसाइकलमा २० प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लगाउँदै आएको छ । तर, अन्तःशुल्क मोटरसाइकलको सीसी क्षमताको आधारमा निर्धारण भएकाले १५४ सीसी माथिकालाई क्रमश बढ्दै जाने व्यवस्था गरेको छ । अहिले सरकारले १ लाखको सामान्य मोटरसाइकलमा १ लाख ४ हजार ८४० रुपैयाँ कर लिइरहेको छ ।

सरकारले २५ दिनपछि ल्याउने बजेटमा मोटरसाइकलको वर्गिकरणलाई छुट्टाउन आवश्यक रहेको छ । आर्थिक ऐन २०७७ मा उल्लेख भएको १५४ सीसी क्षमतासम्मको व्यवस्थालाई परिमार्जन गरि २०० सीसी क्षमतासम्मको एउटा वर्गमा राखेर कर लगाउनु बैज्ञानिक हुन्छ ।

यहाँ अर्को विषयपनि चर्चा गर्नु योग्य हुन्छ । सबै मोटरसाइकलमा सीसीको आधारमा कर निर्धारण गर्ने परिपाटी नै गलत छ । लाइफ स्टाइल प्रोडक्टको रुपमा आउने मोटरसाइकलमा कम क्षमताको इन्जिन भएरपनि मूल्य महंगो हुने गरेको छ । सरकारले ल्याएको यो नियमले लाइफ स्टाइल प्रोडक्टलाई भने फाइदा पुग्छ । तर, आवश्यकताको रुपमा आउने सवारी साधनलाई अफ्ठ्यारो परिरहेको हुन्छ । त्यसैले यसलाई सुधार गर्नु अर्थमन्त्री र बजेट निर्माणमा खटिने सबै कर्मचारीको दायित्व हो ।

मोटरसाइकलमा कसरी निर्धारण हुन्छ कर ?

अहिलेको कर व्यवस्था अनुसार उत्पादक कम्पनीसँग १ लाख रुपैयाँमा किनेको १५० सीसी क्षमताको मोटरसाइकलमा २० हजार भन्सार लाग्छ । भने ४८ हजार रुपैयाँ अन्तःशुल्क लाग्छ ।

भन्सार अन्तःशुल्क जोडिएपछि यसको लागत १ लाख ६८ हजार रुपैयाँ हुन्छ । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । मूल्य अभिवृद्धि कर २१ हजार ८४० रुपैयाँ हुन्छ । यसलाई जोड्दा १ लाख ८९ हजार ८४० रुपैयाँ हुन्छ ।

१५५ सीसी क्षमताका मोटरसाइकलमा सडक निर्माण दस्तुर १५ हजार रुपैयाँ लाग्छ । यसलाई पनि जोड्दा मोटरसाइकलको लागत २ लाख ४ हजार ८४० रुपैयाँ पर्छ ।

यसमा व्यवसायीले २० प्रतिशतसम्म कुल नाफा राख्न पाउने कानुनी व्यवस्था रहेको छ । यसरी राखिएको नाफाबाट शोरुम संचालन, कर्मचारी खर्च, विज्ञापन खर्च लगायत आउने सम्पूर्ण खर्च गर्नु पर्ने हुन्छ । यी सबै खर्च कटाएर आउने नाफा व्यवसायीको खुद नाफा हुने छ ।

यहाँ चर्चा गर्न खोजिएको विषय १ लाखको मोटरसाइकलमा सरकारले १ लाख ४ हजार ८४० रुपैयाँ अतिरिक्त कर लिइरहेको भन्ने हो । यसलाई केहि कम गर्नु पर्ने देखिएको छ । त्यसलाई कम गर्न २० प्रतिशत अन्तःशुल्क कम भए अहिलेभन्दा धेरै मानिसको पहुँचमा मोटरसाइकल पुग्ने छ ।


Back_to_top