चीनमा पनि टेस्लाको बेहाल, ८७ प्रतिशतले घट्यो निर्यात

काठमाडौं । अमेरिकी इलेक्ट्रीक कार ब्राण्ड टेस्लाको चीनबाट हुने निर्यातमा ठूलो गिरावट आएको छ । फेब्रुअरीको निर्यातमा ८७ प्रतिशतले गिरावट आएको हो ।

जनवरीमा चीनमा उत्पादन भएका कार २९ हजार ५३५ युनिट निर्यात गरेको टेस्लाले फेब्रुअरीमा ३ हजार ९११ युनिट मात्रै निर्यात गरेको हो । हुनत टेस्लाको चीनमै पनि बिक्रीमा ठूलो गिरावट आएको देखिन्छ ।

पछिल्ला ५ महिनाको चीनमा उत्पादन, बिक्री र निर्यात हेर्ने हो भने टेस्लाको फेब्रुअरीको बिक्री एकदमै कमजोर हो । चीनमा जनवरी अन्तिमबाट नयाँ वर्ष लागेको कारण पनि फेब्रुअरीको बिक्रीमा उच्च गिरावट आएको हुन सक्छ ।

फेब्रुअरीमा चीनको रिटेल र निर्यात ३० हजार ६८८ युनिट भएको थियो । जनवरीमा ६३ हजार २३८ युनिट, डिसेम्बर २०२४ मा ९३ हजार ७६६ युनिट र नोभेम्बरमा ७८ हजार ८५६ युनिट कार बिक्री र निर्यात गरेको देखिन्छ ।

अमेरिकी राजनीतिमा टेस्लाका सीईओ इलन मस्कको सक्रियतासँगै अमेरिका, युरोप र अन्य महादेशमा पनि टेस्लाको बिक्रीमा उच्च गिरावट आएको छ । उनको सक्रियताले अमेरिकी सरकारको खर्च कटौती निर्णय लिएसँगै लाखौ मानिस बेरेजगार बनेका छन् । ती बेरोजगार मानिसले टेस्लाको शोरुम अगाडि बसेर आन्दोलन गर्दै आएका छन् ।


Back_to_top