काठमाडौं । यदि तपाईं फाइनान्स सुविधामा सवारी साधन खरिद गर्न योजनामा हुनुहुन्छ भने अहिले ब्याजदरका आधारमा सबैभन्दा अनुकूल समय हो ।
किनभने विगतको तुलनामा ब्याजदर झन्डै आधाले सस्तिएको छ । ३ वर्ष अघि १५/१६ प्रतिशतसम्म पुगेको बैंकको ब्याजदर हाल औसतमै ८ प्रतिशत हाराहारीमा झरेको छ । अझ बेसरेट कम भएका बैंकबाट ऋण लिँदा ६.५/७ प्रतिशतमै पाइने अवस्था छ ।
बैंकहरूको ब्याजदर सस्तिनुको मुख्य कारण हो बैंकहरूको बेसरेट घट्नु । बैंकहरूले लगातार निक्षेपको ब्याजदर घटाएसँगै लागत घट्न गई हाल औसत बेसरेट ६.१८ प्रतिशतमा झरेको छ । यो २०७७ यताकै सस्तो हो ।
बैंकहरूले २०८० कात्तिक यता लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट पनि सस्तिएको हो । बेसरेट घटेसँगै कर्जाको ब्याजदर पनि निकै सस्तिएको छ ।
बैंकहरूले हाल बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडर कर्जा लगानी गर्छन् । न्यूनतम प्रिमियम भने ग्राहकले गर्नसक्ने बार्गेनिङमा भर पर्छ । हाल केही बैंकले न्यूनतम ०.५ प्रतिशत प्रिमियममै पनि कर्जा दिइरहेको पाइन्छ ।
हाल बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता छ । आर्थिक शिथिलतका कारण कर्जाको माग नहुँदा पैसा बैंकमै थुप्रिएको हो । हाल बैंकहरूले कर्जाको माग आउँदा न्यूनतम ०.५ प्रतिशतदेखि २/३ प्रतिशत प्रिमियममा ऋण दिइरहेका छन् । अहिले अधिकांश बैंकबाट ७.५ देखि ८ प्रतिशत हाराहारी ब्याजदरमा ऋण पाइने अवस्था छ ।
चालु आव सवारी कर्जाको माग बढेसँगै बैंकहरुले लगानी पनि बढाएका छन् । अघिल्ला दुई वर्ष ऋणात्मक रहेको हायर पर्चेज कर्जाको वृद्धिदर चालु आवमा ४.९ प्रतिशतले बढेको छ । अर्थतन्त्रमा क्रमशः सुधार आउँदा र बैंकको ब्याजदर तल्लो बिन्दुमा भएकाले सवारी साधन किन्नेहरुको संख्या पनि बढ्दै गएको हो ।
कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तोमा ऋण ?
कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।
ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ । अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् भने न्यूनतम ०.५ प्रतिशत प्रिमियममै ऋण दिन्छन् ।
२० वटा बैंकमध्ये हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डको बेसरेट सबैभन्दा कम ४.९ प्रतिशत रहेको छ । तर, हाल चार्टर्डले सवारी कर्जा दिँदैन ।
सवारी कर्जा दिने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट सबैभन्दा सस्तो ४.९७ प्रतिशत छ । बार्गेनिङ गर्न सक्ने ग्राहकलाई बैंकले १/१.५ प्रतिशत ब्याजदरमै कर्जा दिइरहेको छ । यसअनुसार बैंकबाट ६/६.५ प्रतिशत ब्याजदरमै कर्जा पाइने अवस्था छ ।
त्यस्तै, एभरेष्ट, नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल र ग्लोबल आइएई बैंकको बेसरेट ६ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर ७ प्रतिशत हाराहामी कर्जा पाइने अवस्था छ ।
त्यस्तै, कृषि विकास, सानिमा, माछापुच्छ्रे, एनएमबी, सिद्धार्थ र नेपाल एसबीआइको बेसरेट साढे ६ प्रतिशतभन्दा कम छ । यी बैंकबाट पनि साढे ७/८ प्रतिशतमा सवारी कर्जा पाउन सकिन्छ ।
सिटिजन्स, हिमालयन, प्रभु, लक्ष्मी सनराइज, कुमारी, प्राइम कमर्शियलको बेसरेट ६.५ प्रतिशतदेखि ७ प्रतिशतको बीचमा छ ।
२० वटा बैंकमध्ये एनआइसी एशियाको बेसरेट सबैभन्दा धेरै ७.२३ प्रतिशत छ । बेसरेट महँगो भएकाले तुलनात्मक रुपमा एनआइसीबाट कर्जा लिँदा ब्याजदर केही महँगो पर्छ ।