सामान्य गाडीमा आँखै नलाग्ने क्या !

बेइजिङ । विगत १५ वर्षदेखि काठमाडौंमा आयोजना हुँदै आएको नाडा अटो शो हेर्दै आएको म जस्ता अवलोकनकर्तालाई भृकुटीमण्डपबाट बेइजिङ प्रदर्शनी स्थल पुग्दा अनौठो लाग्नु स्वभाविक हो ।

भृकुटीमण्डपमा हुने नाडा अटो शोमा र बेइजिङमा मेरो भूमिका एउटै थियो रिपोर्टिङ गर्ने । स्थान मात्रै फरक थियो । चीनको बेइजिङमा हिजो अप्रिल २५ देखि चाइना अटो शो २०२४ सुरू भएको हो । सुरूकै दिन भएकाले मिडिया डे थियो । भीडभाड कम भने पनि प्रदर्शनीकर्ता र मिडियाको बाक्लो उपस्थिति थियो ।

पूर्वी एशिया, मध्य एशिया, दक्षिण एशिया, यूरोप, अफ्रिका, अमेरिका सबै तिरबाट पत्रकारहरू पुगेका छन् ।  उनीहरू पनि आ–आफ्नो भाषामा रिपोर्टिङ गरिरहेका छन् ।

हरेक दुई वर्षमा आयोजना हुँदै आएको चाइना अटो शोलाई बेइजिङ अटो शो भनेर पनि बुझिन्छ । यहाँको अटो शो हरेक वर्ष पहिलेभन्दा ठूलो हुँदै गएको आयोजकहरू बताउँछन् ।

यसपटक १०० हाराहारी ब्राण्डले सहभागिता जनाएका छन् । ती अधिकांश ब्रान्डले हाइटेक, पावरफुल र लाइफ स्टाइल प्रोडक्टमा आफूलाई केन्द्रित गरेका छन् । त्यसैले ठूला कार छाेडेर एकाध ब्राण्डले राखेको साना कारमा आँखा नै जाँदैन क्या !

अवलोकनको दौरान भारतको जिङ ह्वील मिडियाबाट आएका एक भिडियो टीमसँग मेरो भेट भयो । उनले साथीसँग हिन्दीमा कुरा गर्दै थिए । त्यसमा म पनि मिसिए । उनी गाडी देखेर निकै चकित पर्दै भन्दै थिए, ‘भारतीय बजार यो अवस्थामा आउन अझै १० वर्ष लाग्छ ।’

उनको कुरामा सहमतती जनाउँदै मैले भने, भारतीय नागरिकको आम्दानीको स्रोत बढेपछि यस्ता गाडी भारतमा बन्छन् ।

चीनमा स्थानीय ब्राण्डले धेरै टेक्नोलोजी प्रयोग गरेर गाडी बनाएका छन् । बटम लेस, ड्राइभर लेसदेखि लग्जरीको उत्कृष्ट नमूना अटो शोमा देख्न पाइन्छ ।

रोल्स रोयसदेखि बेन्टलेसम्म, बीएमडब्लू र मर्सिडिजदेखि पोर्श्चे र क्राउनसम्मका ब्राण्डले चिनियाँ खरिदकर्तालाई लोभ्याउँदैछ ।

चिनियाँ ब्रान्ड पनि कम्ती छैनन् । जिकरदेखि साओमीसम्मले आधुनिक कारको नमूना पेश गरेका छन् । बीवाइडी, एमजी र ओमोडा जस्ता ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा थप बलियो बन्न आफ्ना योजना सुनाइ रहेका छन् ।

स्टार्ट अप कम्पनीहरू आफ्ना उत्पादन, प्लेटफर्म र डिजाइनको आधारमा उपभोक्ता र लगानीकर्ता आकर्षण गर्न लागि परेका छन् ।


Back_to_top