काठमाडौं । पेट्रोलको मूल्य आकासिँदै जादाँ उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ आकर्षित हुन थालेका छन् ।
नेपाली बजारमा इलेक्ट्रीक स्कुटर उपलब्ध भएको वर्षौं बिते पनि उपभोक्ता तान्न सकेको थिएन । चारपाँग्रेको तुलनामा दुईपाँग्रे ईभीको बिक्री अति न्यून थियो । चारपाँग्रे ईभीको बजार हिस्सा करिब ६५ प्रतिशत पुग्दा दुईपाँग्रेको ५ प्रतिशतभन्दा कम थियो । तर, पछिल्लो डेढ महिना यता पेट्रोलको मूल्य ३५ प्रतिशतभन्दा धेरै बढेपछि उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ मोडिएका हुन् ।
अहिले मुख्य चल्तीका ब्राण्डका इलेक्ट्रीक स्कुटरको माग उच्च छ । शोरुमहरूमा ग्राहकको घुइँचो लाग्न थालेको छ । स्थापित ब्राण्डका इलेक्ट्रीक स्कुटर डेलिभरी पाउन १ महिनासम्म कुनुपर्ने अवस्था आएको छ ।
अहिले नेपाली बजारमा बिक्री भइरहेका एथर, बजाज, टेल्जी, याडिया लगायत ब्राण्डका शोरुममा दैनिक जसो ग्राहकको भीड देखिन्छ । चल्तीका ब्राण्डका स्कुटर सोल्ड आउट भइसकेका छन् । अन्य ब्राण्डको पनि स्टक सकिँदै गएको बिक्रेताहरू बताउँछन् । यसअघि ईभी स्कुटरको माग सुस्त हुँदा बिक्रेताहरूले सीमित संख्यामा मात्र ल्याएर राखेका थिए । अहिले एकैपटक ह्वात्तै माग बढेपछि माग धान्न धौ धौ भएको हो ।

एथर इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता वैद्य्य इनर्जीका सेल्स हेड सलमान खान पछिल्लो समय इलेक्ट्रीक स्कुटरको माग बढेको बताउँछन् । ग्राहकको माग धेरै रहेकाले तत्कालै स्कुटर उपलब्ध गराउन नसक्ने अवस्था रहेको उनले बताए ।
उनका अनुसार एथरका इलेक्ट्रीक स्कुटर मोडलको वेटिङ पिरियड १ महिना पुगेको छ । अहिले बुकिङ गर्ने १ महिनापछि मात्रै डेलिभरी पाउने उनको भनाइ छ ।
‘एथरका स्कुटरको डिमाण्ड पेट्रोलको मूल्य बढ्नुभन्दा पहिला देखि नै राम्रो थियो । हामीले कम मूल्यको रिज्ता सार्वजनिक गरेको दिनमै २०० भन्दा धेरै बुकिङ लिएका थियौं । अहिले पेट्रोलको मूल्य बढेसँगै एथरको सबै मोडल सोल्ड आउट छन् ।’
नेपालमा याडिया स्कुटर बिक्री गर्ने कुजु नेपालले अब केही सयमकका लागि मात्र स्टक बाँकी हेको बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक उम्मद श्रेष्ठ पेट्रोलको मूल्य बढेसँगै ग्राहकहरूले ईभीमा स्वीच हुनेको संख्या देखेर सरप्राइज भएको बताए । अब लिमिटेड युनिट मात्र स्टक भएको उनको भनाइ छ ।

‘पछिल्लो समय पेट्रोलको मूलय बढ्दै जाँदा इलेक्ट्रीक स्कुटरको माग बढ्दो छ । ईभीमा स्वीच हुने ग्राहकको संख्या देखेर हामी सरप्राइज हुन थालेका छौं । हामीसँग अब केही युनिट मात्रै स्टक छन्,’ उनले मेरोअटोसँग भने ।
त्यस्तै अवस्था टेल्जीको नेपालको पनि छ । अहिले स्कुटर बुकिङ गर्नेको संख्या नै १०० हाराहारीमा पुगेको बताउँदै योम मा ई मोटर्सको संचालक संजीव सिल्पकारले बताए ।
उनी भन्छन्, ‘इलेक्ट्रीक स्कुटरको माग ह्वात्तै बढेको छ, अबको दुईहप्ता पछि मात्रै स्कुटर डेलिभरी गर्न सक्ने अवस्था छ ।’ पेट्रोलको मूल्य वृद्धि अनिश्चित भएकाले ग्राहक ईभीतर्फ आकर्षित हुन थालेको उनको बुझाइ छ ।

नेपालमा बजाज चेतक स्कुटर किन्न पनि कम्तीमा १० दिन कुर्नु पर्ने अवस्था रहेको छ । नक्साल नारायण चौरमा रहको बजाज चेतकको सोरुममा यसअघि डिस्प्लेमा राखिएको सबै मोडल ग्राहकले किनेर लगिसकेको बिक्री प्रतिनिधिहरू बताउँछन् । अहिले डिस्प्लेमा एक युनिट मात्र राखेर बुकिङ लिइरहेको उनीहरूले बताएका छन् ।
अहिले प्रायःजसो शोरुममा आउने ग्राहकले टेस्ट राइडमै भएका स्कुटर भए पनि बिक्री गर्न दबाब दिन थालेका शेरुमका बिक्री प्रतिनिधिहरू बताउँछन् ।
पछिल्लो डेढ महिनामै पेट्रोलको मूल्य प्रतिलिटर झण्डै ६० रुपैयाँ बढेर २१७ रुपैयाँ पुगिसकेको छ । यस्तोमा दैनिक आवतजावत खर्च महँगो भएपछि उपभोक्ताहरू ईभीतर्फ आकर्षित हुन थालेका हुन् । पेट्रोल स्कुटरको तुलानामा ईभीको संचालन खर्च निकै कम हुन्छ । महिनादिन पेट्रोल हाल्ने पैसाले झण्डै किस्ता तिर्न पुग्छ ।
टेल्जी स्कुटर शोरुममा भेटिएका नुवाकोटका रामकुमार कोइरालाले अबको विकल्प ईभी नै भएको बताए । ‘मैले केही समय अघि देखिनै इलेक्ट्रीक स्कुटर किन्ने योजना बनाएको थिएँ । अब पेट्रोल हालेर मोटरसाइकल चलाउन सक्ने अवस्था रहेन । २ वर्ष पेट्रोल हाल्ने पैसामा इलेक्ट्रीक स्कुटर नै आउने देखियो,’ उनले भने ।
पछिल्लो समय बजारमा धेरै रेन्ज दिने स्कुटर पनि आउन थालेका छन् । साथै, चार्जिङ पूर्वाधार निर्माण पनि बढ््दो छ । यसले पनि उपभोक्तालाई ईभीतर्फ तानेको छ ।

