काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट यातायात व्यवस्था विभाग ध्वस्त भएको छ ।
मंगलबार भएको आगजनी कारण मीनभवनस्थित विभागको मुख्य कार्यालयसहित भित्र रहेका सम्पूर्ण कागजात जलेर खरानी भएका हुन् ।
आगलागीमा महानिर्देशसहित निर्देशकहरुको कार्यालय, विभिन्न शाखा, सेवा प्रदान गर्ने कार्यकक्ष सबै जलेका छन् । कार्यालय भित्र रहेका महत्वपूर्ण कागजात, फाइल, कम्प्युटर, फर्निचर, कार्यालय परिसरमा रहेका सवारी साधन लगायत सम्पूर्ण सामग्री जलेर खरानी भएका छन् ।
त्यस्तै, लाइसेन्स छाप्ने मास प्रिन्टर मेसिन, स्मार्ट कार्ड सबै जलेर नष्ट भएको छ ।
‘आगलागीबाट विभागको कुनै सामान बाँकी छैन । बिल्डिङ मात्र ठडिएको छ । जता हेर्यो विरक्त मात्रै लाग्ने अवस्था छ,’ विभागका एक कर्मचारीले भने, ‘कति क्षति भयो भन्ने एकीन गर्न सक्ने अवस्था छैन । क्षतिको विवरण संकलन गर्न सक्ने अवस्था पनि छैन ।’

त्यस्तै, विभागको भवन पछाडि रहेको इम्बोस्ड नम्बर प्लेट छाप्ने पर्सनलाइजेसन सेन्टर सबै जलेको छ । कार्यालयमा छापेर राखिएको ५ लाख थान बढी इम्बोस्ड नम्बर प्लेट र छाप्न बाँकी लाखौं प्लेट खरानी भएका छन् ।
अहिले विभागको सर्भर समेत डाउन छ ।

