आन्तरिक उडान पनि सुचारु, विमानस्थलमा यात्रुको भीड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान पनि सुचारु भएको छ । मंगलबार दिउँसोदेखि बन्द भएको आन्तरिक उडान आजै बिहानैदेखि खुलेको हो ।

अन्तर्राष्ट्रिय उडान भने बुधाबार अपराह्न साढे ३ बजेदेखि नै संचालनमा आएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज बिहानैदेखि आन्तरिक उडान भइरहेको छ । बुद्ध, यति, श्री एयरलाइन्स लगायतले विभिन्न गन्तव्यमा उडान तथा अवतरण गरिरहेका छन् ।

एयरलाइन्सहरुले हिजैदेखि टिकट बुकिङ खुलाएका थिए । उडान सुचारु भएसँगै विमानस्थलको आन्तरिक टर्मिनलमा पनि यात्रुहरुको भीड लागेको छ । सेनाले बिहान १० बजेसम्म निषेधाज्ञा हटाएकाले अहिले विमानस्थल जाने यात्रुहरुलाई सहज भएको छ ।

हवाई उडानका लागि विमानस्थल आउने यात्रुले हवाई टिकट र परिचय खुल्ने कागजात लिएर आउन विमानस्थल कार्यालयले आग्रह गरेको छ ।


Back_to_top