काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यका निषेधाज्ञा खुकुलो बनाएकाे छ । सेनाले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा जारी हुने अवधि (घण्टा) घटाइएको जानकारी गराएको हो ।
सेनाका अनुसार बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । हिजो भने बिहानैदेखि दिनभर निषेधाज्ञा जारी गरेको थियो ।
यद्यपि, सेनाले कर्फ्यु आदेश भने लम्ब्याएको छ । सेनाले भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधिमा चलाउन पाउने सवारी साधनहरुमा पनि खुकुलो व्यवस्था गरेको छ । यसअघि निषेधाज्ञा तथा कर्फ्युको दौरान एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका सवारी मात्र चलाउन पाइनेमा अब खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडी पनि संचालन गर्न पाइने भएको छ ।

