काठमाडौं । चिनियाँ कार उत्पादक कम्पनीहरू तँछाड मछाड गर्दै नयाँ मोडल ल्याउन लागिपरेका छन् । उत्पादनमा आधारीत अनुदान दिइरहेको चीन सरकारले पनि उनीहरूलाई धेरैभन्दा धेरै गाडी बनाउन प्रेरित गरिरहेको देखिन्छ ।
चीन सरकारले अन्धाधुन्द अनुदान दिएर विश्व अटोमोबाइलको चेन नै बिगार्ने कोशिस गरेको भन्दै युरोपियन युनियनले लामो अनुसन्धान गर्यो । अनुसन्धानको निष्कर्षपछि पुरै यूरोपमा चिनियाँ कारहरूमा थप कर लगाइयो । अहिले ३८ प्रतिशतसम्म अतिरित्त कर लगाइएको छ ।
सन् २०१५ पछि खुलेका स्टार्टअप कम्पनीहरूले निकै राम्रा गाडी उत्पादन गरे । टेक्नोलोजी विकासमा यस्ता स्टार्टअप कम्पनी पुराना गाडी निर्माताभन्दा अगाडि देखिए । तर, चर्को प्रतिस्पर्धा र बढ्दो उत्पादन लागतसँगै ईभी निर्माताको आर्थिक हैसियत डामाडोल बन्न थालेको छ ।
अहिले चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादनमा काम गर्दै आएका कम्पनी मध्ये बीवाइडी मात्रै थोरै नाफामा देखिएको छ । उसको अलावा कुनै पनि नयाँ कम्पनीको आर्थिक अवस्था चुस्त छैन ।
होजोन मोटर्सको नेटा ब्राण्ड अब ‘बैंकरप्सी’को चरणमा प्रवेश गरेको छ । विगत दुई वर्षदेखि आर्थिक संकटसँग जुधिरहेको नेटाले अन्ततः आफ्नो ‘आर एण्ड डी’ सेन्टर बन्द गर्यो । विभिन्न चरणमा सरकारी एजेन्सीहरूले लगानी गरे पनि कम्पनी नियमित संचालन हुन सकेन ।
चिनियाँ न्यू इनर्जी भेहिकलमा नयाँ प्रयोग, नयाँ टेक्नोलोजी र नयाँ चार्जिङ पूर्वाधर निर्माण गरेर चर्चा कमाएको नियो ब्राण्डको घाटाले नयाँ उचाइ छोएको छ । सन् २०२१ मै लगभग आम्दानी र खर्च बराबर भएको कम्पनीको घाटा २०२४ को अन्तिम क्वाटरमा मात्रै झण्डै १ अर्ब अमेरिकी डलर पुगेको छ । यसले नियोको आर्थिक अवस्थामा ठूलो धक्का लागेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । पछिल्ला दिनमा नियोको घाटा ५० प्रतिशतले वृद्धि हुँदै गएको छ । घट्दो मार्जिन र बढ्दो घाटाका बीच कम्पनीले कस्तो रणनीति बनाउँछ भन्ने विषयमा अहिले धेरैको चासो देखिन्छ ।
अर्को चर्चित ब्राण्ड एक्सपेङले भने घाटा कम गर्न सफल भएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले घाटा कम गर्न सफल भएको हो । सन् २०२४ को अन्तिम क्वाटरको घाटा १.३ अर्ब आरएमबी मात्रै छ । जुन विगतकोभन्दा राम्रो हो । कम्पनीको मार्जिनमा सुधार भएको छ भने डेलिभरी पनि वृद्धि भएको छ ।
यसका अलावा धेरै स्टार्टअपहरू नयाँ मार्जरको लागि पार्टनरको खोजीमा छन् । लीपमोटरमा स्टेलान्टिसले लगानी गरेको छ । आइटोलाई चिनियाँ टेक जाइन्ट हुवावेले लगानी गर्यो ।
चिनियाँ सरकारी लगानी भएका कम्पनी डोङफेङ, चांगान र जीएसीलाई मर्जरमा लान सरकारले नै दबाब दिइरहेको छ । केही ठूला ब्राण्डले नै तयार पारेका स्टार्टअप वा न्यू इनर्जी ब्राण्डहरूलाई टेक्नोलोजीमा थप लगानी बढाउन दबाब परिरहेको छ । यसका बीचमा केही चिनियाँ ब्राण्डले बैंकरप्सी फाइल पनि गरिसकेका छन् ।