काठमाडौं । चेरी र ज्यागुआर ल्याण्ड रोभर बीचको सहकार्यबाट जन्मिएको स्वतन्त्र लक्जरी ब्राण्ड ‘फ्रिल्याण्डर’को पहिलो मोडल बजारमा आएको छ । सन् २०२४ मा यी दुई कम्पनीले फ्रिल्याण्डरलाई स्वतन्त्र बनाएको थियो ।
कम्पनीले पहिलो मोडल सन् २०२६ को मध्यबाट बिक्री थाल्ने जनाएको छ । कम्पनीको पहिलो मोडल न्यू इनर्जी भेहिकलको रूपमा आउने छ ।
चीनमा चेरीको प्लाण्टमा उत्पादन हुने फ्रिल्याण्डर ब्राण्डले ज्यागुअर ल्याण्ड रोभरसँग भएका चार ब्राण्ड रेन्ज रोभर, डिफेण्डर, डिस्कभरी र ज्यागुअरका विभिन्न प्लेटफर्म प्रयोग गरेर गाडी बनाउने छ ।
फ्रिल्याण्डर ब्राण्डको मुख्यालय सांघाईमा छ । यसको डिजाइन सेन्टर युकेसँगै चीनका विभिन्न सहरमा छ । यसमा कार्यरत डिजाइनरहरु युरोप र चीनका छन् ।
कम्पनीले ल्याउने पहिलो एसयूभी पूर्ण नयाँ प्लेटफर्ममा आधारित रहनेछ । उक्त नयाँ प्लेटफर्ममा प्योर इलेक्ट्रीक, प्लगइन हाइब्रिड लगायतका मोडल बन्नेछ । कम्पनीका अनुसार नयाँ प्लेटफर्मले ८०० भोल्ट आर्किटेक्चरमा हुनेछ ।

कम्पनीले नयाँ एसयूभीको लागि इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम दिएका छन् । यसमा प्रयोग हुने इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम हुवावेबाट लिन लागिएको कम्पनीले जनाएको छ । यसमा लाइडार सहितको एडास फिचर रहनेछ ।
फ्रिल्याण्डरको पहिलो एसयूभीमा ‘आई-एटीएस इन्टिलेजेन्टस अल-टेरेन सिस्टम’ रहनेछ । साथै, कम्पनीले उच्च प्रदर्शन गर्ने चीप प्रयोग गर्नेछ । जसमा क्वालकम स्न्यापड्रागन ८३९७ चीप छ, जुन निकै स्मार्ट छन् ।
कम्पनीले फ्रिल्याण्डरमा सीएटीएलले उत्पादन गरेको ‘फ्रिभोय रेन्ज एक्सटेंडेड हाइब्रिड ब्याट्री’ दिनेछ । उक्त ब्याट्रीले सिक्स सी सुपर चार्जिङ समेट्छ । यसले ३६० किलोवाटसम्मको चार्जिङ सपोर्ट गर्छ ।

‘सेल टु प्याक’ प्रविधिमा आधारित एसयूभी अफरोडको लागि उपयुक्त हुनेगरी तयार पारिएको कारण गाडीको तल्लो भागमा ‘एफडी’ पोलिमर कोटिङ रहने छ । निकै रग्ड र बक्सी डिजाइनमा तयार भएको एसयूभी हेर्दै निकै लोभलाग्दो हुनेछ ।
फ्रिल्याण्डरको पहिलो एसयूभी ५१०० एमएम लामो हुनेछ । यसमा ३००० एमएम लामो ह्वीलबेस रहने छ । ६ सिट क्षमताको एसयूभीको रूपमा आउने फ्ल्यागशिप मोडल लक्जरीको नयाँ रूप हुनेछ ।

